मैथिली भाषामा समाचार सेवा सुरु गर्ने विषयमा छलफल

आर्थिक प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

जनकपुरधाम, ९ माघ : नेपालमा दोस्रो बढी बोलिने मैथिली (मातृभाषा) भाषामा समाचार सेवा सुरु गर्ने सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस) र जनकपुरधाम उपमहानगरपालिकाबीच छलफल भएको छ ।

समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै विभिन्न राष्ट्रिय (मातृभाषा) भाषामा समाचार सेवा प्रारम्भ गर्ने नीतिअनुसार मैथिली समाचार सेवा सुरु गर्ने सम्बन्धमा रासस मधेस प्रदेश कार्यालय र उपमहानगरबीच आज छलफल भएको हो ।

छलफलका क्रममा उपमहानगर प्रमुख मनोजकुमार साहले मैथिली भाषामा समाचार सेवा सुरु गर्न राससले लिएको पहलकदमीको प्रशंशा गर्दै उपमहानगरले राससको अभियानमा आर्थिक र नैतिक सहयोग गर्ने बताउनुभयो । उहाँले मातृभाषाको विकास, संरक्षण र सम्वर्द्धन गर्ने दायित्व सबै तहका सरकारको भएको उल्लेख गर्दै उपमहानगरले उक्त दायित्व पूरा गर्ने बताउनुभयो ।

साहले मैथिली भाषामा समाचार सेवा प्रारम्भ गर्ने राससको योजनामा साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सरकारको समाचार बैंकका रुपमा रहेको राससले मैथिली भाषालगायत मातृभाषामा समाचार सेवा सुरु गर्ने योजना बनाउनु सराहनीय छ । सो क्रममा मैथिलीमा समाचार सेवा सुरु हुनु सम्पूर्ण मिथिलाञ्चलवासीका लागि खुसीको खबर हो”, उहाँले भन्नुभयो, “यस अभियानमा जनकपुरधाम उपमहानगर साझेदार तयार छ । यो हाम्रो लागि गौरवको विषय हो ।”

उपमहानगर प्रमुख साहले यस ऐतिहासिक कार्यलाई मूर्तरुप दिन चाँडै रासससँग समझदारी गर्न तयार रहेको जानकारी दिनुभयो ।

रासस मधेस प्रदेश प्रमुख टीकाराम सुनारले राससले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधतायुक्त नेपालका अन्य मातृभाषाको विकासका लागि समाचार सामग्री उत्पादन गर्ने नीति लिएको जानकारी दिँदै मैथिली भाषाको समाचार सेवा सुरु गर्ने ऐतिहासिक कार्यमा सहकार्यका लागि आग्रह गर्नुभयो । उहाँले मिथिला भाषामार्फत अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रादेशिक तथा स्थानीय समाचार उत्पादन तथा अनुवाद गरी मिथिला क्षेत्रका साथै विश्वभर रहेका मैथिल भाषीको सूचनाको हक प्रतिस्थापित गर्न र भाषाको सम्वर्द्धन गर्न ‘रासस मैथिली समाचार सेवा’ सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

सोहीअवसरमा राससको तर्फबाट नगरप्रमुख साहलाई सैद्धान्तिक अवधारणा पत्रसमेत हस्तान्तरण गरिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मैथिली मातृभाषीको जनसङ्ख्या कूल जनसङ्ख्याको ११ दशमलव शून्य पाँच प्रतिशतअर्थात् ३२ लाख २२ हजार तीन सय ९८ रहेको छ । मैथिली नेपालीपछि दोस्रो बढी बोलिने भाषा हो ।

भाषा आयोगले विसं २०७८ मा प्रकाशन गरेको ‘सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस’मा उल्लेख भएअनुसार दोस्रो भाषाका रुपमा मैथिलीलाई पनि सरकारी कामकाजको मान्यता दिनुपर्ने भनिएको छ । मधेस प्रदेशमा ४५ दशमलव ३० प्रतिशतले मैथिली बोल्ने गरेका छन् । यो भाषा कोशी प्रदेशमा ११ दशमलव १९ प्रतिशतले बेल्ने गरेका भाषा आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *