राष्ट्रपति रनिङ शिल्डमा विजेता विद्यार्थी पुरस्कृत

खेलकुद प्रमुख समाचार विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

भरतपुर (चितवन), ९ माघ : जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यार्थीलाई भरतपुर महानगरपालिकाले पुरस्कार वितरण गरेको छ । विजेता ८३ विद्यार्थीलाई महानगर प्रमुख रेनु दाहालले आज एक कार्यक्रमका बीच पुरस्कार वितरण गर्नुभएको हो ।

गत पुस २७ र २८ गते सञ्चालन भएको प्रतियोगितमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो । भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जितेको थियो । १६औँ राष्ट्रपति रनिङ शिल्डमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताले क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकामा भएको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी जित हासिल गर्न सफल विजेता विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । भरतपुरले प्रथम स्थान हासिल गरेपछि विजेता खेलाडीलाई थप प्रोत्साहान गर्नका लागि महानगरले पहिलो पटक पुरस्कारको व्यवस्था गरेको उहाँको भनाइ थियो ।

यसअघि महानगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता भएर आउने खेलाडीलाई नगरसभा समारोहमा पुरस्कृत गर्दै आएको थियो । प्रमुख दाहालले आगामी दिनमा हुने प्रदेश र सङ्घीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उच्च मनोबलका साथ प्रदर्शन गरी उपाधि प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सात पालिकाबाट एक हजार चार सय बढी खेलाडीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *