‘नकारात्मकताले समाजको सिर्जनात्मकता मारिरहेको छ’

प्रमुख समाचार राजनीति विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय समाजमा नकारात्मक सोच र शैली हावी हुँदा त्यसले समग्रमा व्यक्ति र समाजसमेतको सिर्जनात्मकता खुम्चिँदै गएको बताउनुभएको छ । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष अवधिको समीक्षा र अबको योजनासहित देशवासीका नाममा सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले नकारात्मक सोच र भावनाले नतिजा दिन नसक्ने बताउनुभएको हो ।

“अहिले म नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हिनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको देखिरहेको छु । ‘सकिन्नँ, बन्दैन, हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ ।”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “एकथरि तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन् । यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ ।”

पछिल्लो समय मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको प्रधानमन्त्री दाहालको दाबी छ । विभिन्न सूचकहरुले पनि त्यसको पुष्टि गर्ने भएकाले आफूले सरकारको प्रतिरक्षा गरेको भन्दा पनि वास्तविकता बोलेको उहाँको भनाइ छ । “आज नागरिकसामु प्रत्यक्ष रूपमै वार्षिक रिपोर्ट पेस गर्दैगर्दा म प्रतिरक्षात्मक छैन किनकि, समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन् । एक वर्षअघि जम्मा तीन महिनाको मात्र आयात धान्नसक्ने सामथ्र्य रहेको देशसँग अहिले विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च छ ।”, प्रधानमन्त्री दाहालले भन्नुभयो । सधैं घाटामा रहने सार्वजनिक संस्थान अहिले नाफामा जान थालेको दाहालको दावी छ ।

अहिले अर्थतन्त्रमा देखिएको सुधार पर्याप्त र चित्तबुझ्दो अवस्थामा भने नरहेको प्रधानमन्त्री दाहाल स्वयम्को स्वीकारोक्ति छ । सोचेअनुरुप उपलब्धी हासिल गर्न नसक्नुको कारण खोज्न सरकार लागिपरेको पनि उहाँले बताउनुभयो । “तथ्याङ्कहरू सकारात्मक भए पनि आर्थिक वृद्धिदर मैले सोचेकोभन्दा कम छ । म अब यसका आन्तरिक र बाह्य कारण देखाएर जिम्मेवारी नलिन चाहन्नँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यी समस्याको जडमा पुगी समाधान खोज्न मैले राजनीतिक नेतृत्व, कर्मचारी र निजी क्षेत्रलाई सँगै राखेर खुला छलफल सुरु गरिसकेको छु । दुई अङ्कको आर्थिक वृद्धिको लक्ष्य नराखी, अनि त्यसका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधारका साथै बहुपक्षीय तयारी नगरी देशको तीव्र विकास सम्भव छैन ।”

उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्नेगरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब आफ्नो प्राथमिकतामा रहने दाहालको भनाइ छ । मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको दाहालले बताउनुभयो ।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *