खेलाडी र खेल सङ्घको वर्गीकरण गर्दैछौँ’

खेलकुद समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

अन्नपूर्ण (कास्की) १० पुस : नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र खेल सङ्घको वर्गीकरणको तयारी गरिरहेको बताउनुभएको छ ।

पोखरा रङ्शालामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्बूले सरकारले खेलाडी र खेल सङ्घको वर्गीकरण गरेर सेवा सुविधा दिने बताउनुभएको हो ।

“अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीको वर्गीकरण गरेर तलब भत्ताको सुविधा दिने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो, “यसैगरी खेल सङ्घको पनि वर्गीकरण गरेर सङ्घको प्रव्द्धनका लागि सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ ।”

खेलाडीले खेल जितेर आउँदा पाउने सुविधा र पुरस्कार १५ दिनभित्र प्राप्त गर्ने वातावरण मिलाएको पनि मन्त्री लिम्बूले बताउनुभयो । “खेलाडीले पाउने सुविधा र पुरस्कार नपाएको समस्या सबैलाई थाहा छ”, उहाँले भन्नुभयो, “यसमा निकै मेहिनत गरेर यसलाई संशोधन गरी एक हप्तादेखि १५ भित्र खेलाडीको खातामा उसले पाउने पुरस्कारको रकम जान्छ ।”

मन्त्री लिम्बुले दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनुभयो । केही समय अघि कर्णालीको सुर्खेतमा निर्माण भइरहेको भौतिक संरचनाको अध्ययन अवलोकन गरेर फर्किएको मन्त्री लिम्बुले बताउनुभयो । “आगामी २०८१ मङ्सिर २ देखि दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने भनेर निर्णय भइसकेको छ,” मन्त्री लिम्बुले भन्नुभयो, “सरकार मिति सार्ने मनस्थितीमा छैन् । सबै मिलेर अघि बढ्न जरुरी छ ।”

क्रिकेटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री लिम्बुले भन्नुभयो, “अहिले सरकारले क्रिकेटलाई ‘हाई प्राइरोरीटी’ मा राखेको छ । हरेक प्रदेशमा एक राष्ट्रिय गौरवको क्रिकेट रङ्गशाला निर्माणको कार्य अघि बढाएका छौँ ।” पहिलो चरणमा विराटनगर, मूलपानी र चितवनलाई राष्ट्रिय गौरवको क्रिकेट रङ्गशाला निर्माणका लागि घोषणा गरिसकेकाले ती ठाउँका काम सकेर अरु प्रदेशमा चरणबद्ध रुपमा निर्माणको प्रक्रिया अघि बढाउने उहाँले सुनाउनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *