विजय चालिसेको आत्मसंस्मरण ‘जीवनका वक्ररेखा’

विचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

पुष्पराज गिरी

जीवन एउटा गतिशील यात्रा हो । यात्रा निरन्तर चलिनै रहेको हुन्छ । जीवनका यात्रा र निरन्तरताका आरोह—अवरोहका विगतको साक्षी वर्तमानका कथाहरु हुन् । सिधै अर्थमा जीवनका भोगाईहरु नै वर्नमानका लागि कथा बन्छन् । यिनै कथाहरुलाई विशेष रुपमा रस भर्न सके साहित्यको रुप लिन बेर लाग्दैन । यस्तै जीवनका महत्वपूर्ण भोगाईहरुको साहित्य स्वरुपहरुको संग्रह कथा वा कृति बन्ने हो । यस्तै एक साहित्यकारको जीवनका महत्वपूर्ण आरोह अवरोहका वर्णन संग्रहको रुपमा आएको आत्मसंस्मरण विधाको पुस्तक ‘जीवनका वक्ररेखा’ हो ।

नेपाली साहित्यका पाठकहरु माझ भर्खरै प्रकाशित भएको ‘जीवनका वक्ररेखा’का लेखक विजय चालिसे हुन् । विजय चालिसे नेपाली साहित्य जगतका बहुमुखी प्रतिभाका रुपमा परिचत नाम हो । साहित्यका कविता, कथा, निबन्ध, उपन्यास, नियात्रा जस्ता सवै विधामा उनको प्रतिभा देखिन्छ । त्यसैले उहाँ साहित्य जगतका बहुमुखी प्रतिभाको रुपमा चिनिएका हुन् । साहित्यकार विजय चालिसेको जन्म वि.सं २००८ साल असार २२ गते काठमाडौंको आरुबारीमा भएको हो । पिता रामेश्वर चालिसे र माता सुशीला चालिसेको तेस्रो सन्तानको रुपमा उनको जन्म भएको हो । रमेश विकलको नामले साहित्यमा चर्चित पिताको प्रेरणाले नै साहित्यमा उनको झुकाव बाल्यकाल देखिनै बढेको हो । उनै साहित्यानुरागीका धरोहर चालिसे लामो समयदेखि नेपाली साहित्यको वृत्तिविकासमो अहोरात्र निरन्तर रुपमा क्रियाशील छन् । गोरखापत्रमा लामो सामय संलग्न रहेर नेपाली पत्रकारिता र लेखनमा समेत योगदान दिएका छन् ।

स्कुले विद्यार्थीकालमै कविता सिर्जना गरेर साहित्यिक यात्रा शुरु गरेका चालिसेको पहिलो प्रकाशित कृति भने वि.सं २०३१ सालमा प्रकाशित ‘होटेल राँकीमा हत्या’ नामक उपन्यास हो । तत्कालीन समयमै जासुसी उपन्यासको रुपमा उपन्यासले चार्चा पाएको थियो । त्यसपछि अर्को सामाजिक विषयवस्तुको उपन्यास विं.सं २०३६ सालमा ‘अनि कुहिरो फाट्छ’ प्रकाशनमा आयो । त्यसपछि उनका कथासंग्रहहरु ‘त्रिविध’ २०४४, ‘प्रयोग÷प्रत्यारोपन’ २०४७, ‘भग्न आश्थाको खण्डहर’ २०५६, ‘अग्नि चक्र’ २०६२, ‘विज्ञानको कैदी’ २०७१, ‘खोसिएका सपना’ २०७१, विविध विधाका पुस्तक ‘बेलायत’ २०४५, ‘मनका तुलिकामा स्मृतिका विम्वहरु’ २०६३, ‘ओह नेपारु’ २०७३, ‘मरुभूमिको फुल’ २०७७, ‘सर्पदंशीत मेरो वर्तमान’ २०७७, ‘परिसिलन’ २०७७, लगायतका पुस्तक तथा थुप्रै बाल साहित्य कृतिहरु प्रकाशित छन् । आम संचार र पत्रकारिता विषयमा समेत उनका केही पुस्तकहरु प्रकाशित छन् । थुप्रै फुटकर कविता र काव्य रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भइरहेकै छन् । प्रस्तुत निबन्धकै एउटा प्रकार मानिने आत्मसस्मरण ‘जीवनका वक्ररेखा’ नामक पुस्तक पछिल्लो प्रकाशित कृति हो । जसलाई सुरवी साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको छ ।

‘जीवनका वक्ररेखा’ भित्रको यात्रा शुरुहुन्छ थातथलो र बाल्यावस्थाबाट । वि.सं २००८ साल तिर काठमाडौं जिल्लाको उत्तरपुर्वको एउटा आरुवारी गाउँ । पराले छानाका घरहरु, खेत बारीमा कामकजी गरेर जीवन यापन गर्नुपर्ने मध्यमवर्गीय सामाजिक परिवेश थियो । त्यही परिवेशको थातथलोमा कृतिकारको जन्म हुन्छ र त्यहींबाट शुरुहुन्छ संस्मरणको यात्रा । तत्कालीन बाल्यकालका सुख—दुख, शिक्षा, संस्कार—संस्कृतिका विविध पक्षहरुका भोगाइका विषयहरु छन् । चालिसे थर भएकाहरुको उदयदेखिका वंशावलीका इतिवृत्त पनि रोचक छन् । युवाअवस्था प्रवेशसँगै भोगीएका राजनीतिक सरगर्मी र परिवर्तनका श्रृंखलाहरु, घटनाक्रमहरु अगाडि बढ्दै जान्छ । देशको अस्थिर अवस्था, सशस्त्र युद्धका अवस्था, दरवार हत्याकाण्डका कुरा, गणतन्त्रको उदय हुँदै निर्वाह गरेका गोरखापत्रको नेतृत्वदायि भूमिका सवै देखा भोगेका स्मरण तिथिमिति सहित एक देखि नौ खण्डका परिशिष्टहरुमा उल्लेख छन् । समग्रमा सवै सामाजिक आर्थिक राजनीतिक अवस्थाका परिदृश्यहरु पुस्तकमा उत्रिएका छन् । उहिले देखि अहिलेसम्मका वृतान्त वर्णन छ । कृतिकारकै जीवन भोगाईका विविध पाटोहरुको वरीपरी नै पुस्तकका विषयवस्तुहरुलाई प्रस्तुत गर्न खोजिएको छ । जन्मथलोको परिवेश, संस्कार संस्कृति, शिक्षा, राजनीतिक सामाजिक परिवेश नै पुस्तकका मुख्य विषयहरु देखिन्छ । वि.सं २००८ साल देखि सुरु भएर संस्मरण यात्रा वि.सं २०७७ साल सम्मको परिवेशलाई छुट्टा—छुट्टै शिर्षकमा शिलसिलेवार रुपमा समावेश गरिएको छ ।

पुस्तकका सवै शिर्षकका यथार्य वर्णन, विषयवस्तु र घटनाक्रमलाई साभार र संक्षेपीकरणको समाविष्ट गर्न छोटो आलेखमा भ्याईंदैन । विषय र घटनाक्रम र अनुभूतिका विविधिकरण पनि बृहत भएकाले सानो आकारमा समेट्न सकिएन । सवैका आ—आफ्नै जीवन पद्दति र भोगाईहरु हुन्छन्, आरोह—अवरोह र सुख—दुखका क्षणहरु पनि हुन्छन् । कहिले सफल त कहिले असफलताका क्षणहरु हुन्छन् । तर सवैले भोगेका अनुभवहरु पुस्तक बन्दैनन् । पुस्तक बन्न ति सवै लेख्नु पर्दछ । लेखेर मात्र पनि हुँदैन आम पाठकका लागि लेख्नुमा केही जिम्मेवारी वोध हुन्छ । त्यसैले एक सामान्य व्यक्ति लेखक हुन नसकेको हो । सामान्य व्यक्तिहरुका लागि पनि ति सवै घटनाक्रमहरुलाई नियालेर जस्तो देखियो उस्तै र सजिलै बुझ्नेगरी, विगतका परिदृश्यसँग जोड्नेगरी लेख्नु चै लेखकको धर्म हो । यही धर्मको पूर्ण पालना कृतिकारले वहन गरेका छन् । आफ्नै संस्मरणहरुको वर्णन भएपनि उपयोगी, जानकारीमुलक ढंगमा तयार गरेर पाठकसामु ‘जीवनका वक्ररेखा’ प्रस्तुत भएको छ ।

आत्मसंस्मरण भनेको आत्मवर्णन पनि हो । जे देख्यो, जे भोग्यो तेहीकुरा भन्नु पनि साहसकै कुरा हो । औंल्याउने कुनै दोस्रो व्यक्ति हुँदैन । आफ्नो साक्षी आफै हुन्छ । भनिन्छ सवैलाई झुक्याउन मिल्छ, आफैंलाई मिल्दैन । त्यसैले त आफ्ना भोगाईहरुको वर्णन केवल निबन्ध र विचार धारणा मात्र नभएर आत्मसंस्मरण भनिएको होला । यहाँ कृतिकारलाई आफ्नै जीवनका बारेमा सत्य लेख्नु बाध्यता छ । सत्य र इमान्दारीका साथ निर्विघ्न भएर राम्रा र सुखका कुरामात्र छैनन्, अप्ठेरा, संघर्ष, ओराली र दुखका कुरा पनि छन् । जीवनका सहज मात्र नभएर असहज अवस्था पनि छन् । सवैको वृतान्त सत्य प्रकटको संघर्ष उल्लेख भएबाट पुस्तकको शिर्षक चयन ‘जीवनका वक्ररेखा’ सार्थक छ भन्न सकिन्छ ।

लेखन र लामो साहित्य जीवनका बहुमुखी प्रतिभा हुन् चालिसे । त्यसैले खारिएको र अनुभवी लेखन शैली उनको छ । प्रस्तुत पुस्तकको भाषाशैली सरल, सरस र आकर्षक हुनेनै भयो । आत्मसंस्मरण निबन्धकै एक विधा भएकाले वर्णनात्मक हुन्छ । वर्णन मात्र नभएर सत्य तत्कालीन घटनाक्रमको वर्णन र साक्षीभावको मर्मलाई कायम गर्न पनि लेखक सफल देखिन्छन् । सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको भनाई उद्धत गरौं ‘कृतिमा कहीं कतै यस्तो खोट लगायने ठाउँ पाईंदैन । उनले निविघ्न र निश्छल रुपमा आत्मप्रकाश गरिरहेको पाइन्छ । सङ्घर्षपूर्ण जीवनका उकाली—ओरालीका अनन्य विघ्नबाधासँग जुध्दै आएका विजयमा देखिने अठोट, दृढता, लगत, शुद्धता र निर्भिकताले उनको सर्जक व्यक्तित्वको उच्च मूल्याङ्कन गरिरहेको छ । विजयले भोगेको सत्य नै यहाँ यसरी प्रकट भएको छ ।’

पुस्तककै विषयवस्तुका सम्बन्मा लेखकको भनाई यस्तो छ ‘मैले आफूलाई, आफू बाँचेको समाजलाई र ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरुलाई इमानदारीसाथ उधिन्ने प्रयास गरेको छु ।’ कृतिका हरेक शिर्षकमा प्रस्तुत गरिएका घटनाक्रमहरु यस्तै नै छ । किनकी वर्णन छ विचार वा तर्क वितर्क छैन । जस्तो यथार्थ त्यस्तै प्रस्तुती भएको अनुभव हुन्छ नै ।

जीवनका वक्ररेखा भित्रका घटनाक्रम, परिदृश्यहरु यथार्थ, जानकारी मुलक र संग्रहणीय छन् । आत्मसंस्मरण लेख्न चाहनेहरुका लागि उदाहरणीय शैलीगत अनुकरणीय पनि सावित हुन्छ । त्यसैले पुस्तक अति उपयोगी र महत्वपूर्ण छ । हरेक दृष्टिकोणले सम्पूर्ण देखिने आत्मसंस्मरण कृतिको लेखनले कृतिकार विजय चालिसे स्वयंलाई नेपाली साहित्य क्षेत्रका आत्मसंस्मरण लेखनका अग्रहहरुको पङ्तिमा उभ्याउन सफल बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *