राजनीतिक विकल्प दिन राप्रपा तयार छ

अन्तरवार्ता
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सम्झना पौडेल अधिकारी
केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी

मुलुकको राष्ट्रिय राजनीतिलाई कसरी लिनुभएको छ ?
मुलुकको राष्ट्रिय राजनीति अन्यौलग्रस्त छ । प्रमुख पार्टीहरु आन्तरिक राजनीतिमा रुमलिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीको राजनीतिमा मात्र लागेको देखिन्छ । उनलाई देशको विकास निर्माण, दैनिक क्रियाकलापमा ध्यान छैन ।सत्तारुढ पार्टीदेखि प्रमुख प्रतिपक्ष दलसम्म आफ्नै पार्टीको राजनीतिमा व्यस्त देखिन्छन् । एमाले फुटेपछि फुटको असर एमालेमा मात्र होइन, मुलुककै राष्ट्रिय राजनीतिमा परिरहेको छ । कुनै पनि पार्टी फुट्नु हुन्न, यो कुरा विगतमा राप्रपाको फुटलाई सम्झे पुग्छ । फुटेका कारण राप्रपाको स्थिति कस्तो भयो यो स्मरण गरे पुग्छ । जनताले विगतमा कम्युनिष्टहरुलाई झण्डै दुई तिहाइ दिएकै हुन । तर कम्युनिष्टहरुको फुटको कारण नसोचिने गरी कांग्रेसको कब्जामा सत्ता पुगेको छ । अप्रत्याशित रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री त बन्न पाए, तर उनको विगत हेर्ने हो भने उनी पटक–पटक प्रधानमन्त्री बन्न पाए पनि सफल भने हुन सकेका छैनन् । अहिले सम्मको स्थिति हेर्दा देउवा यस पटक पनि सफल भने हुन सकेका छैनन् । यो अवस्थामा देउवा असफल भए पनि त्यसको उपजस देउवाले मात्र होइन, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको माओवादी केन्द्र माधव नेपाल नेतृत्वमा रहेका एकिकृत समाजवादी देखि जसपा, राष्ट्रिय जनमोर्चासम्मले लिनु पर्नेछ ।
संघीय गणतन्त्रमा व्यापक विकृति भयो, अनियमितता भयो, आपसमा द्धोन्द निम्तिने अवस्था छ । हाम्रो शान्त देशलाई संघीयताको मारमा पारेर प्रमुख दलहरु अघि बढिरहेको देखिन्छ । एक राजा भएको ठाउँमा सयौँ राजा भएर देश अस्तव्यस्त पारेका छन् । संघीयताले देशैँ असफल पार्ने संकेत देखिन्छ । सरसर्ती हेर्दा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राम्ररी चलेको छैन । सत्तारुढ गठबन्धनका दलहरु आपसी स्वार्थमा रमाइरहेको छन् । बाहिरबाट व्यापक विरोध भएपछि प्रधानन्यायधीशमाथि संसदमा महाअभियोग प्रस्ताव ल्याइएको अवस्था छ, त्यो प्रस्ताव पास हुने वा नहुने हो ठेगाना छैन । यसरी हेर्दा प्रमुख दलहरुकै कारण जनताले अहिलेको अवस्था भोग्नु परेको हो । प्रमुख दलहरु बाहिर एउटा कुरा गर्छन्, भित्र अर्को कुरा गर्छन् । देशको यो दुःखद अवस्थाको जनताले विकल्प खोजिरहेका छन् यो स्वभाविक पनि छ । अब मुलुकमा राजनीतिक विकल्प दिन राष्ट्रिय प्रजातन्त्र पार्टी तयार हुनुपर्छ ।

पार्टी फुटाउनु हुन्न भन्दा भन्दै कमल थापा राप्रपाबाट अलग हुनु भयो नि ?

पार्टीको पूर्व अध्यक्ष कमल थापाले पार्टी छोड्नु भएको होइन, यो पार्टीबाट अलग मात्र हुनु भएको हो । सायद यो पार्टीमा उहाँ रहनुभएको भए यो पार्टीले उहाँलाई वरिष्ट नेताकै रुपमा राख्थ्यो । उहाँको एकलौटी गर्ने स्वभावले उहाँलाई नै अप्ठेरोमा पार्ने देखिन्छ । उहाँ राप्रपाबाट अलग भएकोमा हामी पनि दुखित छौँ । निर्वाचनको मुखमा उहाँले राप्रपा नछोडेको भए राम्रो हुन्थ्यो । कमल थापा, अध्यक्ष राजेन्द्र लिङदेनको राजनीतिक गुरु हो । गुरुले चेलाको प्रगतीमा सन्तोष मान्नु पार्ने हो । तर कमल थापाले त्यसो गर्नु भएन । उहाँले गिता छोएर अब पार्टी फुटाउदिन भनेर कसम खानु भएको थियो । उहाँको त्यो कसम कहाँ गयो । राप्रपा नेपालमा पनि राप्रपाकै कार्यकर्ता जाने हुन् अन्य पार्टीको जाँदैनन् । त्यसैकारण कमल थापाले कसम खाएको व्यर्थ भयो ।

के अब नेपालमा राजतन्त्र फर्किएला ?

जुन देशमा राजा हुन्छन, त्यो देशमा पूजा हुन्छन्, जुन देशमा प्रजा हुन्छन् , त्यो देशमा राजा हुन्छन् । विश्वका २३२ देशले हिमालय र शिवालयको देश भनेर नेपाललाई चिन्छन् । जुन देशमा सिता, गौतमबुध्द, ऋषिमुनिहरुको जन्म भएको थियो, जुन एक मात्र देश नेपाल हो, जहाँ ९२ प्रतिशत हिन्दु बस्छन् यो देशमा हिन्दु राज्य र राजसंस्थाको पूनरवाहालीका सँगसँगै माग भइरहेको छ । यो अवस्थामा ढिला चाडो राजतन्त्र फर्किन्छ । राप्रपाले हिन्दु राज्य र राजसंस्थाको पक्षमा जुन एजेण्डा लिएर अघि बढिरहेको छ, यो समय सान्दर्भिक र सहि छ । हिन्दुहरुकै मतले राप्रपाको भविष्य निर्धारण हुनेछ ।

केहि अघि भएको राप्रपाको केन्द्रीय महाधिवेशनले जनतालाई के सन्देश दियो ?

यस मेसोमा राप्रपाको केन्द्रीय महाधिवेशनले युवा पुस्ताको काँधमा जिम्मेवारी दिएको छ । जुन राप्रपाका देशभरका कार्यकर्ताले पनि त्यही चाहेका थिए । राजसंस्था र हिन्दु राज्यको पक्षमा अडिग भएर लाग्न सबै मित्रहरुले अध्यक्ष राजेन्द्र लिङदेनलाई देश बनाउने, पार्टी बनाउने मौका दिनुभएको छ । अब राजेन्द्र लिङदेनकै नेतृवमा पार्टीलाई बलियो बनाउने अभियानको थालनी हुनेछ । देश राप्रपाबाहेक अरुले जोगाउन नसक्ने प्रमाणित भइरहेको छ । राप्रपाको मुख्य एजेण्डा हिन्दु राज्य र राजसंस्था भएकाले यस एजेण्डामा प्रतिबद्ध भएर गाउँ–गाउ टोल टोल जान पर्छ ।

अब राप्रपाको नवनिर्वाचित अध्यक्ष राजेन्द लिङदेनले भने अनुसार काम गर्नु होला ?

राजेन्द्र लिङदनले भने अनुसार काम गर्नु होला ? राजेन्द्र लिङदेनले भ्रष्टाचार मुक्त देश बनाउने बाचा गर्नु भएको छ । त्यो वाचा उहाँले पूरा गर्नु भएको छ । त्यो बाचा उहाँले पूरा गर्नुहुनेछ भन्ने मैले मात्र होइन समस्त पार्टीका नेता कार्यकर्ताले विश्वास लिएका हुन् । राजेन्द्र लिङदेन राप्रपाको अध्यक्ष भएपछि विभिन्न संघसंस्था, व्यक्तिहरु राप्रपामा प्रवेश गर्ने, समाहित हुने क्रममा व्यापक भइरहेको छ । यो हाम्रो पार्टीको भविष्यको लागि शुभ संकेत हो । अध्यक्ष राजेन्द्र लिङदेनले राजार हिन्दु राज्य पुनस्थापनामा अब अरु जोडदार रुपमा लाग्नु हुनेछ भन्ने हामीले विश्वास र भरोसा गरेका छौँ ।
अब राप्रपालाई देशको वैकल्पिक शक्ति बनाउने बेला आएको छ । राजेन्द्र लिङदेन राप्रपामा अध्यक्ष भएपछि अब नयाँ पुस्ताले केहि गर्नुहुन्छ भन्ने जनताले विश्वास लिएका छन् । जनताको विश्वासलाई अध्यक्ष लिङदेनको आत्मसाथ गरेर अघि बढ्नु हुनेछ राप्रपा हिडिरहेको यहि बाटोबाट राप्रपाको भविष्य छ । मुलुकको पनि भविष्य छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको कस्तो तयारी गैरहेको छ ?

राप्रपाले स्थानीय निर्वाचनको तयारी थालिसकेको छ । निर्वाचन तयारी र र परिचालनका लागि पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठकको संयोजकत्वमा केन्द्रमा समिति गठन गरिसकेको छ । स्थानीय निर्वाचनमा हामी देशव्यापी उम्मेद्वार उठाउँछौ । समय ठाउँ अनुसार अन्य दलसँग पनि तालमेल हुन सक्छ । यो निर्वाचन जनतालाई हाम्रो एजेण्डामा सहमत गराउने अवसरपनि हो । सबै हरियो,अब राप्रपा हेर्छौ भनेर जनताले भनिरहेका छन् । त्यसैले अब हुने सबै निर्वाचनमा राप्रपा शानदार रुपमा विजय हुनेछ भनेर मैले विश्वास लिएको छु ।

राप्रपामा आउने मत कमल थापातिर पनि जाला नि ?

राप्रपालाई मत दिने जनताले एजेण्डा हेरेर हो । कमल थापाले आफ्नो एजेण्डाबाट राजसंस्था हटाएको देखिएकाले अब आम जनताले राजसंस्था र हिन्दु राज्यको प्रमुख एजेण्डा बोकेको राप्रपालाई मात्र मत दिनेछन् । अर्को कुरा हामी प्रमुख दलहरुले विगतमा गरेको भ्रष्टाचार, अनियमितताको भण्डाफोर गर्छौँ । कांग्रेस कम्युनिष्ट देश खोव्रmो पारेका छन् । राप्रपाले जनतालाई राप्रपाको प्रमुख प्रमुख एजेण्डामा सहमत गराउने यहि अवसर हो ।

देशव्यापी रुपमा भइरहेको महँगीको कसरी मूल्याङकन गर्नु हुन्छ ?

दिनदिर्नै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भइरहेको छ । नून, तेल, खाद्यन्न लगायतमा व्यापक रुपमा मूल्य वृद्धि भइरहेको छ । नून, तेल, खाद्यन्न लगायतमा व्यापक रुपमा मूल्य वृद्धि भइरहेको छ । यसले गर्दा सर्वसाधारण जनता मारमा परिरहेका छन् । मूल्य वृध्दिरोक्न अब जनता सडकमा उत्रने बेला आएको छ । वर्तमान सरकारले जनताको दुःख हेर्दैन भन्ने प्रमाणित भइसकेको छ । १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृध्दि हुन्छ, खाद्यान्न लगायतमा यहि अवस्थामा देश प्रमुख दल भनिएकाहरु पनि चुपचाप छन् केही विद्यार्थी संगठन महँगीको विरु४ गरिएको प्रदर्शनले सरकारलाई खास रुपमा घुच्घचाउन सकेको देखिदैन ।

अन्तमा देशवासीलाई सन्देश दिनुस न ?

अब को मुलुकको हरेक क्षेत्रमा विकल्प दिने पार्टी राप्रपा मात्र हो । राप्रपालाई अब हुने तिनै तहको निर्वाचनमा जिताउन समस्त देशवासीमा सविनय अनुरोध गर्दछु । राप्रपाकै नेतृत्वमा हिन्दु राज्य र राजसंस्था पूनरवहाली गर्न समाहित हुन म आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *