अर्जुनधारामा हत्या गरी बोरामा फाल्ने तीन जना सार्वजनिक

समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

गतहप्ता झापाको अर्जुनधारामा फालिएको अवस्थामा फेला परेको भारतीय नागरिकको हत्यामा संलग्नलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । उनीहरुले भारतीय नागरिकको हत्या गरि असार १२ गते राति अर्जुनधारा ४ मा रहेको ह्यूम पाइपभित्र बोरामा फालेका थिए । भारतीय नागरिकको हत्यामा संलग्न तीन जनालाई आज प्रहरीले सार्वजनिक गरेको हो । उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबुभाइ भएको झापा प्रहरीले जनाएको छ । भारतीय नागरिकलाई हत्या गरी बोरामा पोको पारेर नजिकैको ह्युम पाइपभित्र फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटना लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा पक्राउ पर्नेहरुमा अर्जुनधारा ७ डाँडा गाउँकी ३२ वर्षीया जानुकादेवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १० बस्ने २५ वर्षीय सुरेश परियार रहेका छन् । उनीहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । घटनामा संलग्न एक जनाको खोजी भइरहेको छ । प्रहरीका अनुसार ५ लाखको सुपारी दिएर ति व्यक्तिको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । सुपारी लिएर बराह क्षेत्रका परियार र अर्का एक व्यक्तिले हत्या गरेको झापाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए । गुजरात घर भएका मृतकसँग जानुका थापाको भारतमै चिनजान भएको थियो ।

०७६ सालमा कामको सिलसिलामा थापा भारत पुगेकी थिइन् । सोही चिनजानका आधारमा भारतीय नागरिक नरेशकुमार अर्जुनधारा आएका थिए । प्रहरीका अनुसार ५९ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका मृतक इटहरीमा तारेख धाइरहेका थिए । तारेखकै लागि उनी नेपाल आएको प्रहरीको भनाइ छ । ०७६ सालमा मृतकले थापाको छोराछोरीका लागि खेलौना पठाएको बुझिएको छ । थापाले ति भारतीय नागरिकबाट घर निर्माणको लागि ५ लाख पनि लिएको अनुसन्धानबाट खुल्न आएको छ । बिर्तामोडका डिएसपी रुगमबहादुर कुवरले मृतक असार ७ गते भारतबाट अर्जुनधारा आएको जानकारी दिए ।

उनका अनुसार असार ८ गतेसम्म थापाकै घर बसेका मृतक ९ गते तारेखका लागि इटहरी गएर फेरि अर्जुनधारा नै फर्किएका थिए । ९ गते राति साढे ८ बजे मृतकसहित परियार र अर्का एक व्यक्तिले सँगै मादकपदार्थ खाएको र सोही समयमा कुटपिट गरि फलामको मार्तोलले शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरेको भनाइ छ । अनुसन्धानमा उच्चस्तरको प्रविधि प्रयोग गरिएको डिएसपी कुवरको भनाइ छ । हत्या गरेवापत थापाले परियारलाई २ पटकमा २ लाख र अर्का एक व्यक्तिलाई १ लाख दिएको अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट एउटा मोटरसाइकल, मार्तोल, फरुवा, खुकुरी, २ थान तन्ना, डोरी, झोला, ३ थान मोवाइल र २ वटा खाली बोतल फेला परेको थियो । प्रहरीका अनुसार हत्यापछि संलग्नहरुले पुर्ने सोच बनाएका थिए । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *