पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई हेर्नुपर्छ : प्रमुख साह

प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । आज कामपाको सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्ने क्रममा प्रमुख साहले सो कुरा बताउनुभएको हो । अनुगमनमा उपप्रमुख सुनिता डङ्गोल रप्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको पनि सहभागिता थियो ।

“पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्यरूपमा हेरेका छौँ”, अनुगमनपछि प्रमुख साहले भन्नुभयो, “पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि हामीले हेरेका छौँ ।”

अनुगमनका क्रममा पलेस्वा पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी गराउनुभएको थियो । अध्यक्ष डङ्गोलले भगवान् बहाल पुनःनिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा जानकारी दिँदै करिब रु चार करोड लागतमा बहाल पुनःनिर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको बताउनुभयो ।

सो रकममध्ये रु एक करोड ५० लाख कामपाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो । दोस्रो चरणका लागि रु साढे तीन करोड लागतको अनुमान छ ।

अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुनःनिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो । क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख साहले पुनःनिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राख्नुभएको थियो । अनुगमनका क्रममा कार्यपालिका सदस्य मीना सिंह, मैयालक्ष्मी महर्जनसहित निर्देशक वसन्त आचार्य, नरेन्द्र विलास बज्राचार्य र राम थापासहित अधिकारी सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *