कृषि र उद्योगलाई केन्द्रमा राखेर बजेट ल्याउन सत्तापक्षको सुझाव

आर्थिक प्रमुख समाचार प्रशासन
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी छ । छलफलमा सहभागी हुँदै सत्तापक्षका सांसदले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त व्यावहारिक तथा वैज्ञानिक भएको तर्क गरे ।

प्रमुख विपक्षी दलका सांसदले भने दिशाहीन र लक्ष्यहीन रहेको आरोप लगाए । आयातमुखी अर्थतन्त्र हुनु, आन्तरिक उत्पादन बढाउने र आयात विस्थापन गर्दै निर्यात बढाउनका लागि पहल गर्नुपर्नेमा सांसदहरुले जोड दिए ।

विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको, शोधान्तर घाटा बढिरहेका बेला त्यसलाई समाधानका लागि तत्काल पहल गर्नुपर्ने उनीहरुको भनाइ थियो । छोकडा, सुपारी, मरिच जस्ता सामग्रीको आयात रोक्नुपर्नेमा त्यसलाई खुला गरिएकामा प्रतिपक्षी दल सम्बद्ध सांसदले सरकारको आलोचना गरे ।

नेकपा (एमाले)का सांसद राजेन्द्र गौतमले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त सैद्धान्तिक रुपमा नै अमिल्दो रहेको बताए । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले निर्वाचन क्षेत्र बजेट र केही लोकप्रिय नाराको पछाडि नलाग्न सरकारको ध्यानाकर्षण गराए । लत्ताकपडा, भान्छामा चाहिने सबै सामान खरिद गरिरहेको र रोजगारीका लागि मानिस विदेश पठाएर रमाएर बसिरहेको तथ्य पेस गर्दै उनले औद्योगिक वातावरण बनाएर उद्योग स्थापनामा ध्यान दिनुपर्ने बताए ।

सहरीकरण बढेको, आम्दानीमा वृद्धि भएको तथा रोजगारीका क्षेत्र विस्तार भएको उल्लेख गर्दै उनले वैदेशिक लगानी भित्र्याउने, आन्तरिक लगानीको विस्तार गर्ने र एक दशकमा सबै काम गर्ने गरी नीति, कार्यक्रम र योजना बनाउनुपर्ने बताए । जुत्ता उद्योग, टेक्सटायल, लत्ताकपडा उद्योगमा आधार विस्तार भएकाले त्यसमा नेपाली कामदारको सहभागिता बढाउने र भ्याल्यू चेन अभिवृद्धि गर्न सकिने थापाको भनाइ थियो ।

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले चालू आवमा निर्यातमा वृद्धि भएको देखिए पनि आयात अचाक्ली वृद्धि हुँदा त्यसले अर्थतन्त्रलाई चापमा पारेको बताए । उनले केही नीतिगत एवं संरचनागत क्षेत्रमा सुधार गर्नेबित्तिकै रोजगारीको वृद्धि गर्ने र कृषि क्षेत्रमा नयाँपन दिन सकिने स्पष्ट पारे ।

वैदेशिक ऋणको भुक्तानी र दायित्वमा वृद्धि भएकाले वैदेशिक मुद्राको सञ्चितिमा प्रभाव पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले ऊर्जा सुरक्षालाई विशेष प्राथमिकताका राखेर लगानी वृद्धि गर्न र जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राख्न पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले आग्रह गरे ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नै ठूलो मात्रामा पैसा विदेश लैजाँदासमेत यसले विदेशी मुद्राको सञ्चितिमा प्रभाव पारेको सांसद पुनको भनाइ छ । सांसदद्वय गोपाल बम र निरुदेवी पालले विनियोजन विधेयकका सैद्धान्तिक विषयमा आफ्ना धारणा राख्दै राम्रा कार्यक्रम ल्याएर मात्रै नहुने कार्यान्वयनमा ध्यान दिन आग्रह गरे ।

नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो संकटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना धारणा राख्दै उनले अर्थतन्त्र संकटमा प¥यो भनेर हल्ला गर्नुभन्दा पनि समाधानका उपाय खोज्नुपर्ने बताए । इन्धन आयातमा भएको वृद्धि, सवारीसाधन, सुनचाँदी, चामललगायतका सामग्रीको अत्यधिक पैठारीका कारण अर्थतन्त्र चापमा परेको तथ्य पेस गर्दै सांसद शाहले भने, ‘हामी डेञ्जर जोनमा छौं । तर, समस्या नै परिहालेको भने अवस्था होइन ।’ उनले राजस्व संकलन राम्रो रहेकाले करका दायरा विस्तारमा ध्यान दिनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का सांसद जयपुरी घर्तीले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नदबलिएकाले त्यसैमा विशेष ध्यान दिनुपर्ने बताए । उद्योग, पर्यटन, कृषि तथा स्वास्थ्य शिक्षाजस्ता विषयलाई विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा प्रमुख प्राथमिकतामा राखिएकामा अर्थमन्त्रीलाई धन्यवाद दिँदै उनले उच्च शिक्षालाई अनुसन्धानमुखी र व्यावहारिक बनाउन आग्रह गरे ।

सोही दलका सांसद शेख चाँदताराले विगतको सरकारको गलत नीतिका कारण अर्थतन्त्रमा संकट आएको भन्दै वर्तमान सरकार र अर्थमन्त्रीलाई दोष दिने प्रवृत्ति सदासर्वदा गलत भएको धारणा राखेका थिए । नेकपा (एमाले)का सांसद कृष्णप्रसाद दाहालले बजेटका प्राथमिकता र सिद्धान्त कार्यान्वयमुखी हुनुपर्नेमा जोड दिँदै अन्यथा भएको खण्डमा त्यो केवल निवन्धमामात्रै सीमित हुने धारणा राखेका थिए ।
उनले प्रदेश र स्थानीय तहले गर्ने कामलाई माथि नै राख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने सुझाव दिए ।

बजेट र योजना नभएका कार्यक्रम बालुवाटारबाट श्रव्यदृश्यका माध्यमबाट शिलान्यास गरेर अर्थतन्त्रलाई समस्यामा पारिएको भन्दै सांसद रामबहादुर विष्टले गलत अभ्यासलाई पूर्णरूपमा परित्याग गर्नुपर्ने बताए ।सांसदद्वय प्रेमप्रसाद तुलाचन र रामबहादुर विष्टले विनियोजन विधेयकका प्राथमिकतालाई थप प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिए ।

सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उहाँहरुले मुलुकको वर्तमान आर्थिक संकटलाई मध्यनजर गरी बजेटमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

छलफलमा सहभागी सांसद देवप्रसाद तिमिल्सिनाले कडा र जटिल रोगका उपचारका लागि सर्वसाधारण जनतालाई सहज सुविधा प्रदान गर्नुपर्ने व्यवस्था गर्न माग गरे । उनले द्रुत मार्ग समयमै निर्माण गरेमात्र देशले फड्को मार्ने बताउँदै किसानलाई दिने भनिएको सहुलियत टाठाबाठाले पाउने गरेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद यज्ञराज सुनुवारले मुलुकको अर्थतन्त्र संकटमा परेको विषयलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएर दायित्व बोध गर्दै संसद्को अवरोध एकतर्फीरुपमा हटाई संघर्षको स्वरुप परिवर्तन गरेको बताए । उनले संसदमा जारी यो छलफल औपचारिकताका लागि मात्र नहोस् भन्दै सांसदले उठाएका विषयलाई बजेटमा समेट्नुपर्ने बताए ।

सांसद छक्कबहादुर लामाले कृषि, ग्रामीण विकास र पिछडिएका क्षेत्रलाई आगामी बजेटमा प्राथमिकतामा राख्न सुझाव दिँदै सामाजिक न्यायको क्षेत्रमा न्यायोचित वितरणमा ध्यान दिन आग्रह गरे । सांसद मीना सुब्बाले किसानलाई समयमै बिउबिजन, मलखादको व्यवस्था तथा अन्य सुविधा प्रदान गर्नसके मुलुक खाद्यान्नमा आत्मनिर्भर हुने धारणा व्यक्त गरे । स्वास्थ्य, शिक्षा क्षेत्रमा बजेट बढाउन माग गर्दै उहाँले सांसदका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

सांसद खेमप्रसाद लोहनीले आगामी आवको विधेयकका सिद्धान्त र प्राथमिकता राम्रो भएको उल्लेख गर्दै कार्यान्वयन पक्ष प्रभावकारी बनाउन सुझाव दिए । उनले बजेटमा कृषिलाई आत्मनिर्भर बनाउन र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधालाई सर्वसुलभ बनाउने कार्यक्रम ल्याउन सुझाव दिए ।

सांसद रंगमति शाहीले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै सरकारले प्रदान गर्ने सहुलियतमा वास्तविक किसानको पहुँच पुग्न नसकेका सन्दर्भमा यो विषय बजेटको प्राथमिकताको विषय हुनुपर्ने बताइन् । बजेटमा उद्यमशीलता कार्यक्रम ल्याई रोजगारी सिर्जना गर्ने विषयमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *