वित्तीय प्रणालीमा वाणिज्य बैंकको योगदान ६६.३१ प्रतिशत पुग्यो

आर्थिक प्रमुख समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । नेपालको वित्तीय प्रणाली वाणिज्य बैंकको योगदान ६६ दशमलव ३१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदन २०७७/७८’ अनुसार सम्रग वित्तीय प्रणलीमा वाणिज्य बैंकको ६६ दशमलव ३१ प्रतिशत अर्थात् ५४ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । वाणिज्य बैंकको आकार ५४ अर्ब २० करोड बढी पुग्दा समंग्र नेपालको वित्तीय प्रणालीको आकार भने ८१ खर्ब ७४ अर्ब ८५ करोड रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकले २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी, ७० लघुवित्त कम्पनी, १ पूर्वाधार बैंक र १ जलविद्युतमा लगानी गर्न स्थापित इन्भेष्टमेन्ट कम्पनी गरी १ सय ३४ संस्थालाई नियमन गर्छ । त्यसैगरी बिमा समितिले १९ जीवन बिमा, २० निर्जीवन बिमा र २ वटा पुनर्बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ ।

त्यसैगरी नेपालको वित्तीय प्रणालीभित्र एउटा स्टक एक्सचेन्ज, एउटा सेन्ट्रल डिपोजिटरी कम्पनी, ५० स्टक ब्रोकर, १५ म्युचुअल फन्ड, २ वटा क्रेडिट रेटिङ एजेन्सी, ७६ वटा डीपी, ८७ योग्य संस्थागत खरिदकर्ता (क्युआइबी) र १ वटा स्टक डिलरलाई नेपाल धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएको छ ।

त्यसैगरी वित्तीय प्रणालीको अभिन्न अंगको रूपमा नन बैंकिङ फाइनान्सियल इन्स्टिच्युसनअन्तर्गत कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष र हुलाक बचत बैंक सञ्चालनमा छन् ।

समग्र वित्तीय प्रणालीको सम्पत्तिमध्ये वाणिज्य बैंकको सम्पत्ति ६६.३१ प्रतिशत छ । आव २०७७/७८ मा समग्र वित्तीय प्रणालीको आकारमा विकास बैंकको योगदान ६.३८ प्रतिशत, लघुवित्तको योगदान ५.४५ प्रतिशत रहेको छ । वित्तीय प्रणालीमा केन्द्रीय बैंकले सञ्चालन अनुमति दिएका बैंक तथा वित्तीय संस्थाहरुको मात्रै योगदान ७९.९९ प्रतिशत रहेको छ । २०७७/७८ सम्ममा सहकारी संस्थाको सम्पत्ति ३ खर्ब ८३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । समग्र वित्तीय प्रणालीमा यसको योगदान ४.६९ प्रतिशत रहेको छ ।

वित्तीय प्रणालीमा ठूलो योगदान गर्ने अर्काे क्षेत्र भनेको बिमा क्षेत्र हो । वित्तीय प्रणालीमा बिमा क्षेत्रको कुल सम्पत्ति ५ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो । समग्र वित्तीय प्रणालीमा बिमा कम्पनीहरुको योगदान ६.६४ प्रतिशत रहेको छ । समग्र वित्तीय प्रणालीको सम्पत्तिमा कर्मचारी सञ्चय कोषको योगदान ५.४४ प्रतिशत, नागरिक लगानी कोषको योगदान २.४२ प्रतिशत रहेको छ ।

वित्तीय प्रणालीको कुल सम्पत्तिमा वाणिज्य बैंक, लघुवित्त र बिमा कम्पनीको अंश पछिल्लो ५ वर्षमा बढ्दै गएको छ भने विकास बैंक, फाइनान्स, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको सम्पत्तिको अंश भने विस्तारै घट्दै गएको छ ।

वित्तीय प्रणालीको कुल सम्पत्तिमा कुल गार्हस्थ्य उत्पादन १४२.२५ प्रतिशत पुगेको छ, सहकारी र कुल गार्हस्थ्य उत्पादनको प्रतिशत १२७.०५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *