हाम्रो एजेण्डा सफल पार्न राप्रपाले स्थानीय तहमा जित्नुु पर्छ :

अन्तरवार्ता
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

भिन्दियो प्रजापती
राप्रपा उम्मेद्वार
काठमाडौं महानगरपालिका, वडा नं. ५

तपाई राप्रपाका तर्फबाट काठमाण्डौं महानगरपालिकाको वडा नं. ५ मा वडा अध्यक्ष पदमा उम्मेदवार बन्नु भएको छ, यहाँको स्थिति कस्तो छ ?
यहाँ राप्रपाको स्थिति राम्रो छ । विगतमा जुन पार्टीमा लागे पनि यस पटक राप्रपालाई मत दिन्छौं भनेर मतदाताले भनिरहेका छन् । त्यसैले म यस वडामा जित्नेमा विश्वस्त छु ।
तपाईले यहाँ जित्ने प्रमुख आधार बताइ दिनुस् न ?
मैले यहाँ जित्ने प्रमुख आधार भनेकै राप्रपाका इमान्दार कार्यकर्ता, स्वतन्त्र मतदाता हुन् । अरु प्रमुख पार्टीमा लागेकाले पनि मलाई मतदान गर्दैछन्, यो नै मैले जित्ने थप प्रमुख आधार हो ।
सत्तारुढ गठबन्धन मात्र होइन, एमालेले समेत कतिपय ठाउँमा राप्रपासँग आपसी तालमेल गरिरहेको देखिन्छ, यस वडामा राप्रपाले अन्य दलसँग तालमेल गरेको छ ?
हामीले कुनै दलसँग चुनावी तालमेल गरेका छैनौं । हामी एक्लै चुनावी प्रतिस्पर्धा गर्दै छौं । हामी एक्लै जित्छौं ।
चुनावको मुखमा राप्रपाका निर्वतमान अध्यक्ष कमल थापा पार्टीबाट अलग हुनु भयो । यस वडामा त्यसको असर परेको छ कि छैन ?
कमल थापा व्यक्तिगत रुपमा राप्रपाका नेता–कार्यकर्ताका लागि घाडो भएका थिए । कुचोले वडार्नु पर्नेमा हावाले उडाएर लग्यो, अति उत्तम भयो । राम्रो भयो । कमल थापाको पार्टीमा राप्रपाका कुनै नेता–कार्यकर्ता लागेका छैनन् । कार्यकर्ता नभएकाले नै कमल थापा एमालेसँग मिल्न पुगेका हुन् ।
राप्रपाको बटम लाइन (मुख्य एजेण्डा) राजतन्त्र र हिन्दु राज्य हो, अब तपाईलाई राजतन्त्रवादी र हिन्दुवादीले मत देलान नि ?
मैले परम्परादेखी नै हिन्दु धर्म मान्दैै आएको छु । मलाई पहिले देखि नै यस वडाका वासिन्दाले हिन्दुवादी र राजतन्त्रवादीका रुपमा चिन्छन् । त्यसैले यसपटक मलाई हिन्दुवादी र राजावादीले खुसी भएर जिताउने छन् भन्ने विश्वास लिएको छु । मैले जिते पछि विभिन्न धार्मिक संस्कृति, पर्व, परम्परागत जात्रालाई अझै बलियो र व्यवस्थित गर्न सहयोग पु¥याउने छु । राप्रपाकै वलले राजसंस्था र हिन्दुराज्य फर्किने कुरा सत प्रतिशत सत्य हो । स्थानीय सरकारदेखि नै यो एजेण्डा बलियो पार्न राप्रपाले स्थानीय तहमा जित्नु पर्छ ।
९१ प्रतिशत हिन्दु रहेको देशमा हिन्दुवादीहरुले दशैं भर जित्नु पर्छ होइन ?
वास्तवमा हिन्दु धर्म संस्कृति बचाउन देशैं भर राप्रपाले जित्नुपर्छ । राप्रपाले जितेपछि मात्र हिन्दु धर्म पूनस्थापनामा सहयोग मिल्ने छ ।
यस वडामा तपाई विजयी भएपछि वडावासीको सेवामा के के गर्नुपर्छ ?
मैले यस वडामा जितेपछि पहिला वृद्धवृद्धाभत्ता घरघरमा पु¥याउने छु, महिनाको एक पटक वृद्धवृद्धाहरुलाई निःशुल्क स्वास्थ्य जाँच गराउने छु, विभिन्न स्वास्थ्य जाँचका लागि वडामै स्वास्थ्य चौकी खोल्ने छु, फोहोर मैलाको व्यवस्थापन गर्नेछु, प्रत्येक घरधनीको धारामा निर्वाद रुपमा खानेपानी पुराउने छु, परम्परागत पर्व जात्राहरुलाई व्यवस्थित रुपमा निरन्तरता दिनेछु, र वडामा आवश्यक पर्ने दैनिक काम कारवाहीलाई निस्पक्षरुपमा गर्नेछु ।
काठमाण्डौंमा फोहोरमैला र खानेपानीको मुख्य समस्या छ, यो समसय समाधान गर्न तपाईसँग कस्तो भिजन छ ?
काठमाण्डौंमा खानेपानीको समस्या छ नै । यस अघि यस वडामा निर्वाचितहरुले फोहोर मैला व्यवस्थापन, खानेपानीको व्यवस्थापनमा खास ध्यान दिएनन् । यो समस्या समाधान गर्न यो वडामा राप्रपाले जित्नु पर्छ । मैले जित्नुपर्छ । खम्बा खम्बामा रहेका विजुलीका तार, टेलिफोन, केवुलका तारहरु व्यवस्थित गर्न मैले पहल गर्ने छु ।
राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टी प्रवेशको लहर छ, यस वडामा कस्तो छ ?
राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भइसकेपछि अन्यन्त्र जस्तै यस वडामा पनि एकै पटक सयौंले राप्रपा प्रवेश गरेका छन्, यो क्रमले निरन्तरता पाइरहेको छ । यस पटक युवा नेता राजेन्द्र लिङ्देनको राप्रपालाई जिताउनु पर्छ भनेर आम मतदाताले भनिरहेका छन् । त्यसैले यस पटकको निर्वाचनमा राप्रपाले जित्दैछ, मैले पनि जित्दैछु ।
अन्तमा तपाईलाई जिताउन यसवडावासीलाई के सन्देश दिनु हुन्छ ?
राप्रपाको पक्षमा देशव्यापी रुपमा लहर छ, यस्तै लहर यो वडामा पनि छ । मैले भोट माग्ने बेलामा मात्र तपाईहरु माझ आएको होइन, म पहिलादेखि नै तपाईहरुसँग यस वडाबासीको घरदैलोमा नै बसेर वडाबासीको सेवा गरिरहेको छु, सामाजिक कार्य गरेर आइरहेको छु । त्यसैले यस पटक काँग्रेस–कम्यूनिष्टहलाई होइन राप्रपालाई मत दिनुहोस् । एमसिसीलगायत विभिन्न विषयका काँग्रेस कम्यूनिष्टले राष्ट्रघात गर्दै आएका छन्, राप्रपा भने राष्ट्रवादी पार्टी हो, राष्ट्रलाई अहित हुने काम हामीले केही गरेका छैनौं । हाम्रा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक पैसा भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्नु भएकोे छ, के प्रमुख दलका नेताहरु यस्तो भन्न सक्छन् । त्यसैले सम्पूर्ण राजभक्त, देशभक्त, हिन्दुवादी वडावासीहरुले एकतावद्ध भएर अमुल्य मत दिएर मलाई जिताउनु हुन सविनयं आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *