बिनय जंग बस्नेतद्वारा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

ललितपुर । समाजसेवी बिनय जंग बस्नेतले महालक्ष्मी नगरपालिका वार्ड नं ७ को वडाअध्यक्ष पदको लागि मनोनय दर्ता गराएका छन् । बस्नेतले कुनै दलबाट नभई सो पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि बस्नेतले आफू कुनै पार्टीको नभएको र कुनै पार्टीको कार्यकर्ता पनि नभएको उल्लेख गर्दै देश बनाउने अभियान आफ्नै ठाउँबाट प्रारम्भ गर्न लागेको बताएका छन् ।

स्थानीय समस्याहरुमा उल्लेख्य मात्रामा सहयोगको पहल गर्दै आइरहेका बस्नेतलाई स्थानीय जनताले उम्मेदवारी नै दिन सल्लाह, सुझाव र अनुरोध गर्न थालेपछि चुनावी मैदानमा होमिएको बताए। ‘सर्धै उस्तै राजनीतिक दल, एउटै विचार र उस्तै अनुहार र कार्यशैलीले जनता आजित भइसकेकोले स्वतन्त्र रुपमा जनताको माझमा उभिएको हो ।’ बस्नेतले भने

मनोनयन दर्ता पछि संक्षिप्त कुराकानी गर्दै उनले भने ‘अब गाउँ, अनि देश परिवर्तन विकास र निकासका लागि नयाँ रोजौं, नयाँ खोजौ’ अब राजनैतिक परिवर्तन ल्याउने उचित समय आएको छ, परिवर्तन सम्भब छ । बहुदल आएदेखि सधैं उही दल, उही पार्टी र एउटै प्रतिनिधि मात्र आइरहेकोले परिवर्तनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएर नयाँ शुरुवात गर्न खोजेको हो ।’

लामो समयदेखि सामाजिक कर्ममा होमिएका बस्नेतले हालसम्म करिव ५ सय ६० भन्दा बढी वेवारिसे शवको सद्गद गरिसकेका छन् । सबैको मन जित्ने काम गर्दै आएका उनी बेवारिसेहरूको अभिभावक मानिने बस्नेत वडाध्यक्ष पदमा मनोनय दर्ता गराएसँगै समाजको अगुवा बन्ने अभियानमा होमिइसकेका छन् । हालसम्म सामाजिक कर्म गर्दा उनले आफ्नो अंशमा परेको जग्गा बेचेर बेवारिसे शवको सद्गत गरिरहेका छन् । सडकमा भेटिने वेवारिसे बा आमा राख्नका लागि आश्रयस्थल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको उनै बस्नेत अब आफ्नै गाउँ टोलको रुपान्तरण गर्नका लागि राजनीतिक प्रतिष्पर्धामा समेत उत्रिएका छन् ।

निरन्तर समाजको लागि खटिइरहेका बस्नेतले स्थानीय क्षेत्रमा खानेपानी, सडक, सामाजिक सेवाका कार्यहरुमा योगदान दिंदै आएपनि ठोस र निर्णायक परिणाम दिने गरी कार्यगर्न जनप्रतिनिधि नै बन्नुपर्ने आवश्यकता महसुस गरेर वडाध्यक्ष बन्ने निश्चय गरेका हुन् । स्थानीय क्षेत्रमा दैनिक भोग्नु परेको, खानेपनीको समस्या, सडक, ढल, फोहोरमैला, प्रशासनिक झमेला, कनिका छरेजस्तै बजेट छर्ने परिपाटी जस्ता समस्यालाई समाधान गर्ने योजना उनको छ । स्थानीय जनताको चाहना र आवश्यकतालाई राम्ररी बुझेर जनउत्तरदायि जनप्रतिनिधिको रुपमा कार्य गर्ने लक्ष्य लिएका बस्नेतको स्वतन्त्र उम्मेदवारीले यतिबेला स्थानीय क्षेत्रमा चर्चा पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *