२०८३ भदौ ९, बुधबार पूर्वाह्न ०८:११:४७

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

हाम्रो विद्यालय म बनाउँछु अभियान सुरु गर्दैछौँ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरू गरिने बताउनुभएको छ ।

दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान सुरू गरिने बताउनुभयो । उहाँले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानध्यापक र शिक्षकको मुख्य भूमिका हुने पनि उल्लेख गर्नुभयो । “हाम्रो परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल लग्यौँ भने उसको जीवन डाक्टरको हातमा हुन्छ’’, मन्त्री पौडेलले भन्नुभयो, “आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानध्यापक र शिक्षकको हातमा बढी छ ।’’

उहाँले लोकसेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवा सुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताउनुभयो । “विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौँ’’, उहाँले भन्नुभयो ।

सार्वजनिक विद्यालयको शिक्षा बिग्रियो भन्नुभन्दा पनि शिक्षण पेशालाई मर्यादित व्यवसायको रुपमा अघि बढाउनुपर्ने सुझाव दिँदै मन्त्री पौडेलले भन्नुभयो, “पेशालाई मर्यादित बनायौँ भने शैक्षिक सुधार आफैँ हुन्छ ।’’

शिक्षण पेशा नाफा कमाउने र तलब थाप्ने मात्र नभइ सेवा प्रदान गर्ने पेशा भएको उहाँको भनाइ छ । निजी शिक्षण संस्थाको उदाहरण दिँदै मन्त्री पौडेलले विद्यार्थी विद्यालयमा ल्याउन पढाइसँगै अभिभाककसँग नियमित छलफल र मेहनत पनि गर्नुपर्ने बताउनुभयो ।
–––

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *