‘सरकारले नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको छ’

प्रमुख समाचार प्रशासन राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ, ५ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनसेवालाई छिटो छरितो बनाउन सरकार नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८औँ जन्मोत्सवको अवसरमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले आज यहाँ आयोजना गरेको ‘कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रम’मा उहाँले जतिसक्दो छिटो संस्कृति र पर्यटन नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संस्कृति र पर्यटन नीति अहिले मन्त्रीपरिषद्मा छ, त्यो अबको मन्त्रिपरिषद् बैठकले पास गर्नेछ । संस्कृति, पर्यटन, नागरिक उड्डयन, भौतिक सम्पदा र प्राचिन स्मारक संरक्षणसम्बन्धी ऐन पनि निर्माण भइरहेको छ ।”

मन्त्री पाण्डेले सार्जजनिक निकायलाई सुधार गर्ने विषयमा सरकारले गम्भीरता पूर्वक काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रसँग साक्षात्कार गरिरहेको बताउनुभयो ।

सरकारले उत्पादकत्व वृद्धि गर्नेतर्फ काम गरिरहेको उहाँको भनाइ छ । मन्त्री पाण्डेले भन्नुभयो, “निजी क्षेत्रले भन्नुभएको छ, एउटा पाँच तारे होटल चलाउन विदेशमा ४० जना भए पुग्छ, यहाँ ४०० जनाले पनि चलाउन गाह्रो भइरहेको छ, किनभने हाम्रो उत्पादकत्व कम छ, हामीले काम नै कम गर्दा रहेछौँ, त्यसकारण एउटा सार्वजनिक संस्थानमा कति कर्मचारी आवश्यक हो भन्ने कुराको निक्र्यौल गर्नुपर्छ ।”

उहाँले नेपाल धार्मिक, प्राकृतिक, भौगोलिक बनावट, उर्वर जमिन र जल सम्पदाको हिसावले सम्पन्न भएको उल्लेख गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने विषयमा सरकारले काम गरिरहेको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली भाषा र संस्कृतिको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा कवि बाबु त्रिपाठी, प्रगति राई, तुलसीहरि कोइराला, रञ्जिता गिरी र कल्पना भण्डारीलगायतले कविता वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *