मकवानपुर, ११ माघ : बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले स्वदेशी हस्तकला एवं कृषि उत्पादनको प्रयोग र वितरण नेपाली उद्यमशीलताका महत्त्वपूर्ण स्तम्भ रहेको बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका–१० मा दोस्रो घरेलु उत्पादन प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम एवं शैक्षिक मेला २०८१ को आज उद्घाटन गर्दै प्रदेश प्रमुख देवाकोटाले स्वउत्पादन प्रयोग गरी आत्मनिर्भरतालाई बलियो बनाउन आग्रह गर्नुभयो ।
आन्तरिक उत्पादनमा अधिकतम खपत र निकासी गर्नुपर्नेमा जोड दिँदै स्थानीय निकायले कानूनीरूपमा स्थानीय उत्पादनको बिक्री–वितरण र प्रयोगमा ठोस, परिणाममुखी कदम चाल्नुपर्ने प्रदेशप्रमुख देवकोटाको भनाइ छ ।
स्वेदशी सामग्रीको गुणस्तर र किफायती मूल्य कायम गर्नुपर्ने भन्दै देवकोटाले भन्नुभयो, “हाम्रा स्थानीय र स्वदेशी सामग्री कार्यालयको पहिरन वा व्यक्तिगत उपहार र सजावटमा प्रयोग गर्नुपर्छ । गुणस्तर र किफायती मूल्य कायम गर्नुपर्छ ।”
प्रदेशप्रमुख देवकोटाले स्थानीय तथा स्वदेशी कच्चा पदार्थलाई सकेसम्म बढी प्रयोग गरी उत्पादनमा जोडेर बजारको खोजी र विस्तार गर्नुपर्ने बताउनुभयो । सूचनाप्रविधिलाई अधिकतम प्रयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताउँदै उहाँले त्यसतर्फ राज्यका सबै निकाय सहयोगी बन्न जरूरी छ भन्नुभयो ।
स्वदेशी उत्पादनको प्रयोगलाई सबैले आत्मसात गर्दै अगाडि बढ्न प्रदेश प्रमुखको आग्रह थियो । हेटौँडा–१० वडा कार्यालयको आयोजनामा सुरू भएको प्रदर्शनी एवं शैक्षिक मेला शनिबारसम्म सञ्चालन हुनेछ ।
उद्घाटन कार्यक्रम हेटौँडा–१० का वडाध्यक्ष फूर्वादोर्जे लामाको सभाध्यक्षमा भएको हो । वडाध्यक्ष लामाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादित वस्तुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी मेलाको आयोजना गरेको बताउनुभयो ।
प्रदर्शनीमा हेटौँडा नगरका १९ वटै वडाका घरेलु तथा हस्तकला, कृषि, ढाकाबाट बनेका समानको प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ । व्यवसायीलाई स्टल निःशुल्क उपलब्ध गराइएको वडाध्यक्ष लामाले बताउनुभयो ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति, वडा समन्वय समिति, उद्योग वाणिज्य सङ्घ, विद्यालय, जाल्पादेवी उद्यमी महिला केन्द्र, स्थानीय क्लब, राजनीतिक दललगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजना गरिएको हो ।
–––