भारतीय राजदूतद्वारा महाकाली पुलको अनुगमन

प्रमुख समाचार विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

दार्चुला, २१ भदौ : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अनुगमन गर्नुभएको छ ।

राजदूत श्रीवास्तवले महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको आज अनुगमन गर्नुभएको हो । नेपाल–भारत जोड्ने उक्त पुलले दुई देशबीचको व्यापारीक, पर्यटकीय र साँस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै उहाँले निर्माण कार्य समयमै सक्न निर्देशन दिनुभयो । आगामी कात्तिक महिनाभित्र पुल निर्माण सम्पन्न गर्न राजदूत श्रीवास्तवले निर्माणमा संलग्न पक्षलाई आग्रह गर्नुभयो ।

सो अवसरमा राजदूत श्रीवास्तवले प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू, महाकाली करीडोर सडक योजनाका ईन्जिनियर दिपकबहादुर विष्टलगायतबाट पुल निर्माणबारे जानकारी लिनुभएको थियो । भारतको पिथौरागढ जिल्लाका उप जिल्ला अधिकारी मन्जित सिंह तथा त्यहाँस्थित सुरक्षाअधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

पुल निर्माणको काम भारतीय निर्माण कम्पनी ‘पि एण्ड आर ईन्फ्राप्रोजेक्ट लिमिटेड पन्जा’ले गरिरहेको छ । एक सय १० मिटर लामो उक्त पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँ रहेको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भेगलाई भारतसँग जोड्न दार्चुलामा बन्न लागेको यो पहिलो मोटरेवल पुल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *