गृहमन्त्री लामिछानेसँग नेपालका लागि भारतीय राजदूत श्रीवास्तवको भेट

प्रमुख समाचार प्रशासन विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ, १३ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताका आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, बृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको उहाँको सचिवालयले जानकारी गराएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटवार्तामा गृहमन्त्री लामिछानेले दुई देशबीच रहेका संयन्त्रमार्फत् सहयोग आदान–प्रदानमा थप समन्वय तथा जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने बताउनुभयो ।

उहाँले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनुपर्ने र भएकालाई स्तरोन्नतिसहित नियमित र विश्वासिलो बनाउनुपर्नेमा जोड दिनुभयो । भेटका क्रममा राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार नियन्त्रणको समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सो क्रममा उहाँले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्टीकृत तालिम उपलब्ध गराउन आवश्यक स्रोत व्यवस्थापनका लागि भारत तयार रहेको बताउनुभएको थियो ।

यसैबीच आजै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताययोङले पनि भेटवार्ता गर्नुभएको छ । भेटमा असल मित्र रहेकाले दक्षिण कोरियासँग नेपालको आशा र अपेक्षा पनि धेरै क्षेत्रमा रहेको भन्दै मन्त्री लामिछानेले सहकार्यलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

राजदूतले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको सङ्ख्या बढाउँदै लैजाने, दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने विषयमा जोड दिइएको बताउनुभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *