मेलामार्फत स्थानीय परिकार प्रवर्द्धन गर्दै विद्यार्थी

आर्थिक समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

दोधारा चाँदनी (कञ्चनपुर), ६ माघ : महेन्द्रनगरस्थित ब्रिष्टन कलेजले आयोजना गरेको रोजगार मेलामा अवलोकनकर्ताको आकर्षणमा कोदोको मःम र मकैको रोटी देखिएको छ । बिहीबारदेखि सुरु तीन दिने मेलामा सो कलेजका विद्यार्थीले स्थानीय परिकारलाई प्रवर्द्धन गर्न ‘पश्चिमेली चुलो’ सञ्चालनमा छन् । आफूहरु समूह बनाएर स्थानीय खानाका परिकार प्रवद्र्धन गरिरहेको विद्यार्थी बिन्दु विष्टले बताउनुभयो । “हाम्रो मुख्य उद्देश्य स्थानीय खानाका परिकारलाई प्रोत्साहन र प्रवर्द्धन हो”, उहाँले भन्नुभयो ।

कोदोको मःम बनाउँदै गर्नुभएका विद्यार्थी ज्योति थापाले आफूले तयार पारेका परिकार धेरैले रुचाएको बताउनुभयो । “मैदाको मःमको साटो कोदोको मःम धेरैले रुचिपूर्वक खानुभएको छ”, उहाँले भन्नुभयो । उहाँले चिसो मौसममा कोदो शरीरका लागि फाइदाजनक भएको उहाँको भनाइ थियो । पढाइ सँगसँगै व्यवहारिक ज्ञानको क्षमता विकासका लागि मेलाले फाइदा पुर्‍याएको उहाँको भनाइ छ ।

व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीलाई कक्षाकोठामा सिकेको सीपलाई व्यवहारमा लागू गरी स्वरोजगार बन्न सिकाउनका लागि मेला आयोजना गरिएको कलेजका प्रिन्सिपल निशा भट्टले बताउनुभयो । उहाँले उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीलाई व्यवसाय सञ्चालन गर्न कलेजले बिनाधितो, बिनाब्याज रु ४० हजार ऋणसमेत प्रदान गर्ने बताउनुभयो ।

“रोजगार मेलाको उद्देश्य विद्यार्थीको सीप र क्षमता प्रदर्शन गर्न र उद्यमशीलतातर्फ उन्मुख गराउनु हो”, उहाँले भन्नुभयो, “उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीलाई हामीले आर्थिक सहयोग प्रदान गरेका छौँ ।” मेलामा स्थानीय थारु परिकार डिक्री र कोदोको मःम, मट्का चिया, मासको बटुकलगायत छन् ।

मेलामार्फत विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परीक्षण गर्न सहयोग पुगेको विद्यार्थीहरुको भनाइ छ । “हामीले कक्षाकोठामा सिकेको सीपलाई व्यवहारमा लागू गर्न यो मेला हाम्रा लागि फाइदाजनक छ”, विद्यार्थी ममता भट्टले भन्नुभयो, “यसले हामीलाई व्यवसाय कसरी सञ्चालन गर्ने र स्वरोजगार कसरी बन्ने कुरा सिकाएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *