कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

ढोरपाटन (बागलुङ), ७ माघ : नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय प्रमुख अभिषेक अधिकारीको दुई महिना अगाडि अन्यत्र सरुवा भएको थियो । आयोजनाको चालु आर्थिक वर्षका ५० प्रतिशत काम सम्पन्न भइसक्दासमेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन ।

कार्यालय प्रमुखका रूपमा रामकृष्ण गिरीलाई विभागबाट खटाए पनि हालसम्म कार्यालयमा उपस्थित नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङका सूचना अधिकारी कोमल शाहले बताउनुभयो । गिरीले मन्त्रालयबाट पत्र बुझिसकेको तर सङ्घीय कार्यान्वयन एकाइले रमना दिएपछि यसै महिना कार्यालयमा आउने बताउनुभयो । आयोजनाका लागि यस वर्ष सङ्घीय सरकारले रु आठ करोड बजेट विनियोजन गरेको छ ।

नयाँ सातवटा ठेक्कामार्फत निर्माणको काम सुरु भइरहेको उहाँको भनाइ छ । पाँचवटा योजनाको काम सिर्जना एण्ड कुञ्जम जेभी, एउटा श्रीमान् निर्माण सेवा हेटौँडा र एउटा ठेक्का सम्झौता भइसकेको भन्दै अब निर्माणका चरणमा रहेको शाहले बताउनुभयो । हालसम्म छवटा योजनाको कामका लागि ठेक्का सम्झौता भई मूल्याङ्कनसमेत भइसकेको छ ।

सूचना अधिकारी शाहले भन्नुभयो, “हालसम्म रु ५० लाखको घम्चिनमा सडकको काम सम्पन्न भइसकेको छ, ढोरपाटन नगरपालिका–३ पुर्कोट सडकको रु २५ लाखको काम पनि सकियो र कुत्थाप्लामा पार्क निर्माणको काम अन्तिम चरणमा छ, तर भुक्तानी गर्न सकिएको छैन । गत वर्षको सहित हालसम्म सम्पन्न गरिएका योजनाको रु चार करोड भुक्तानी दिन बाँकी छ, हाकिमसाप आएपछि मात्रै काम हुनेहुँदा अहिलेसम्म रोकिएको हो, उहाँ आउनुभयो भनेमात्रै काम सुरु हुन्छ ।”

आव २०६७/०६८ देखि सरकारले व्यवस्थित सहर बनाउने भन्दै मध्यपहाडी लोकमार्गका विभिन्न १० स्थान छनोट गरेको थियो जसमध्ये बुर्तिवाङ पनि रहेको छ । बाह्र वर्ष बित्न लाग्दा कार्यालयले अपेक्षाअनुसार काम भने गर्न नसकेको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *