तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि आर्मीलाई

खेलकुद समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

तनहुँ, २७ पुस : ऋषिङ गाउँपालिकाद्वारा शुक्रबार आयोजित तेस्रो ऋषिङ खुला अल्ट्रा म्याराथनको उपाधि गोविन्द कार्कीले प्राप्त गरेका छन् ।

धारुङभञ्ज्याङबाट दुबुङकोट भ्यूटावरसम्मको ४३ किलोमिटर दूरी तीन घण्टा छ मिनेट ३३ सेकेण्डमा पार गर्दै उनले प्रथम उपाधि हासिल गरेका हुन् । त्रिभुवन आर्मी क्लबमा कार्यरत कार्कीले ३२ जना धावकलाई पछि पार्दै उक्त उपाधि चुमेका हुन् ।

त्रिभुवन आर्मी क्लबकै गोपाल तामाङ द्वितीय र तिलक सुनुवारले तृतीय स्थान प्राप्त गरे । उनीहरूले क्रमश ः तीन घण्टा सात मिनेट ३३ सेकेण्डमा र तीन घण्टा दश मिनेटमा उक्त दूरी पार गरे । त्यसैगरी सान्तवनामा करम रावलले तीन घण्टा १२ मिनेट १४ सेकेण्ड, महोहनदेव जोशीले तीन घण्टा १६ मिनेट आठ सेकेण्ड, जुनेस खड्काले तीन घण्टा १६ मिनेट २२ सेकेण्ड र निरोज भट्टले तीन घण्टा २१ मिनेट २७ सेकेण्डमा दूरी पार गरी सान्तवना स्थान प्राप्त गरेका छन् । उनीहरूलाई क्रमशः रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अल्ट्रा म्याराथनको आयोजना गरिएको हो । विजयी धावकलाई क्रमशः रु ६५ हजार, ४० हजार, २५ हजार र रु पाँच हजार (करबाहेक)का साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

खेलकुदका माध्यमबाट ऋषिङ गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्यअनुरुप म्याराथन कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो । म्याराथनले गाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

धारुङ भञ्ज्याङ (ऋषिङ प्रवेशद्वार)देखि दौड सुरु भई रानीपोखरी, पुरानथोक, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यूटावरमा पुगेर टुङ्गिएको हो । गत वर्षको दोस्रो ऋषिङ म्याराथनमा ५३ जना धावकले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *