वित्त आयोग र गाउँपालिकाका जनप्रतिनिधिबीच अन्तरक्रिया

आर्थिक विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी र हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीबीच अन्तरक्रिया सम्पन्न भएको छ । आयोग र गाउँपालिकाबीचको सम्बन्ध, दीर्घकालीन योजनालगायत विषयमा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा वित्त आयोगको काम, कर्तव्य र अधिकारका साथै छलफलका क्रममा उठेका जिज्ञासाको आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य जुद्धबहादुर गुरुङले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा आयोगका अध्यक्ष पौडेलले हेलम्बु गाउँपालिकाले प्राकृतिक स्रोतको संरक्षण तथा प्रवर्द्धनका लागि दीर्घकालीन योजना अगाडि सारेको देखिएको भन्दै पालिकाका नेतृत्वको कार्यशैलीको प्रशंसा गर्नुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी मिलेर मात्र काम गर्न सम्भव हुने भएकाले यो वातावरणलाई सधैँ कायम राख्न आग्रह गर्नुभयो ।

अध्यक्ष पौडेलले आयोग सधैँ संवाद र समन्वयमा रहने भन्दै आयोग सहयोगका लागि सदैव तयार रहेको बताउनुभयो । खानेपानी प्रभावित क्षेत्रका नागरिक र नेतृत्व पङ्क्तिको संयुक्त भेला आयोजना गरेर विकासको खाका तयार पार्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले हेलम्बुमा निर्माणाधीन ग्रेट ट्रेलले पर्यटकलाई लोभ्याउने बताउनुभयो । उहाँले ट्रेकिङ, ¥याफ्टिङलगायत साहसिक खेलको सम्भावना रहेकाले प्राकृतिक सुन्दरताले भरिपूर्ण हेलम्बुले प्रकृतिबाटै आम्दानीको स्रोत बढाउनुपर्नेमा जोड दिनुभयो । देशको विकासका लागि हरेक नागरिकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले एकआपसमा सहकार्य र समन्वय गर्दै अगाडि बढ्नुपर्ने सिंहले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले समस्या नै समस्या रहेको हेलम्बुमा समस्यालाई कसरी चिरेर जाने भन्ने चुनौती रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि यसअघिका नेतृत्व तहले चासो नदिएको भन्दै खानेपानीको मुहान हुँदाहुँदै पनि विकासमा पछि पर्नु चिन्ताको विषय रहेको उल्लेख गर्नुभयो । अध्यक्ष शेर्पाले सङ्घीय सरकारले अहिलेसम्म स्थानीय सरकारलाई सरकार नदेखेको भन्दै गुनासो गर्नुभयो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले एक आपसमा सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनतालाई सेवा प्रवाह गर्नका लागि वित्तीय तथा प्राकृतिक स्रोतको प्रभावकारी परिचालन पूर्व शर्तका रूपमा रहने गर्दछ ।

आयोगले संविधान प्रदत्त अधिकार क्षेत्रभित्र रही तीनै तहका सरकारबीच हुने वित्तीय हस्तान्तरण तथा प्राकृतिक स्रोतको सन्तुलित तथा समन्यायिक बाँडफाँट सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोगका सदस्य जुद्धबहादुर गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष ग्याल्जेन शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष पौडेल, प्रतिनिधिसभा सदस्य सिंह, वित्त आयोगका सदस्य गुरुङ, हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने, प्रमुख प्रसाशकीय अधिकृत राजुभाइ श्रेष्ठ, वडाध्यक्ष तथा वडा सदस्यको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *