सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : मन्त्री लिम्बू

खेलकुद प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ / युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताउनुभएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा मन्त्री लिम्बुले खेलकुद क्षेत्रको विकासमा सबै क्षेत्रको उत्तिकै योगदान आवश्यक रहेको बताउनुभयो । “नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्र, सरोकारवाला र सरकार एकजुट हुन आवश्यक छ”, उहाँले भन्नुभयो । खेलकुद क्षेत्रमा लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँले धारणा राख्नुभयो ।

मन्त्री लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भुमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को काम कारबाही र भूमिका विषयलाई लिएर समीक्षा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्रीले लिम्बुले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भएपनि अनुभव त्यति लामो हुन नसकेको बताउनुभयो । उहाँले ओलम्पिकमा सहभागिता मात्र होइन पदक ल्याउने वातावण बनाउन आफूहरू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । सरकार खेलकुद सङ्घ, मन्त्रालय र ओलम्पिक कमिटी एक भएर काम गर्दा मात्र नेपाली खेलकुदलाई परिणाममुखी बनाउन सक्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदको संस्थागत विकासको इतिहास लामो भएपछि अपेक्षाअनुसारको नतिजा दिन नसकेको बताउनुभयो । उहाँले काम गर्ने तरिकाबारे प्रशिक्षकसँगै हरेक खेलकर्मीले पनि आफूलाई समीक्षा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा ओलम्पियन दीपक विष्ट, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले नेपाली खेलकुद विकासका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *