लोक सेवा आयोगको सर्भरमा डाटा हराएपछि पुनःदरखास्त आह्वान

प्रशासन लोक सेवा
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं : लोक सेवा आयोगको सर्भरमा समस्या देखिएपछि तथ्याङ्क अर्थात् डाटा हराएको छ । आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया सुरु गर्ने भएको छ ।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान र थप दस्तुर तिर्न नपर्ने गरी पुनःदरखास्त आह्वान प्रक्रियामा रहेको छ ।

अघिल्लो वर्ष मङ्सिरमा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा त्यस सरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा त्यस सरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा त्यस सरहको र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणमा पहुँच पाउन नसकेको आयोगले जनाएको छ ।

आयोगले एक प्रेस विज्ञप्ति निकालेर ती विज्ञापनका परीक्षा कार्यक्रम परिमार्जन गरी यथाशीघ्र नयाँ परीक्षा प्रकाशन गर्ने प्रक्रियामा आयोग रहेको जानकारी दिएको छ । अघिल्लो वर्ष फागुन २३ गतेदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *