राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधि आर्मीले जित्यो

खेलकुद
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

भरतपुर, ९ पुस : कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको हो ।

दश स्वर्ण, चार रजत र चार कास्यसहित १८ वटा पदक जितेर आर्मी प्रतियोगिताको विजेता बनेको छ । आर्मीले नगद रु एक लाख पुरस्कार प्राप्त गरेको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा उपविजेता बनेको बुटवल तेक्वान्दो डोजाङले नौ स्वर्ण, दुई रजत र चार कास्यसहित १५ वटा पदक जितेको छ । बुटवलले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको कार्कीले बताउनुभयो ।

त्यस्तै, तेस्रो भएको एपिएफले चार स्वर्ण र तीन कास्यसहित सातवटा पदक जितेको छ । एपिएफले नगद रु २५ हजार प्राप्त गरेको छ । उक्त प्रतियोगिता कूल ४६ स्वर्ण, ४६ रजत र ९२ कास्य पदकका लागि भएको थियो ।

प्रतियोगिताको पुम्सेतर्फ पनि नेपाल आर्मी प्रथम भएको छ । आर्मीले रु २० हजार नगद प्राप्त गरेको छभने दोस्रो भएको एपिएफले रु १० हजार र तेस्रो भएको चितवन तेक्वान्दो डोजाङले नगद रु पाँच हजार पाएको छ । प्रतियोगितामा बुटवल तेक्वान्दोका महिला र पुरुष दुवै खेलाडी उत्कृष्ट घोषित भएका छन् । बुटवलले महिला र पुरुष दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै रु १०/१० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेडल तथा पुरस्कार प्रदान गर्नुभयो । उहाँले भरतपुर खेलकुदको हबका रुपमा विकास हुँदै गएको दाबी गर्नुभयो । पछिल्लो समय भरतपुरमा विभिन्न खेलका राष्ट्रिय प्रतियोगिताहरु आयोजना भइरहेको भन्दै मेयर दाहालले खेलाडी उत्पादनमा महानगरले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *