अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : पोखराका ज्येष्ठ नागरिकलाई ‘महानगर माता/पिता’ सम्मान

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

कास्की, १४ असोज / अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा महानगरपालिकाले आज महानगरका दुई ज्येष्ठ नागरिकलाई ‘महानगर माता’ र ‘महानगर पिता’को उपाधिबाट सम्मान गरेको छ ।

महानगरले वडा नं ७ की एक सय पाँच वर्षीय इन्द्रकला गौतमलाई महानगर माता र वडा नं २६ का एक सय तीन वर्षीय प्रजापति पोखरेललाई महानगर पिताबाट सम्मान गरेको हो ।

गौतमलाई उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले सम्मान गर्नुभएको हो । त्यसैगरी पोखरेललाई सोही वडाका वडाध्यक्ष नरेन्द्र थापाले सम्मान प्रदान गर्नुभयो । दुवै जनालाई महानगरले जनही रु १५ हजार नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । गौतम र पोखरेल यस वर्ष महानगरको सबैभन्दा बढी उमेरका ज्येष्ठ नागरिक हुनुहुन्छ । महानगरपालिकाले प्रत्येक वर्ष ज्येष्ठ नगरवासीमध्ये दुई जनालाई महानगर माता पिता घोषणासहित सम्मान गर्दै आएको छ ।

कार्यक्रममा उपप्रमुख गुरुङले महानगरका ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएको बताउँदै भन्नुभयो, “ज्येष्ठ नागरिक हाम्रा भगवान् हुन् । त्यसैले उहाँहरूको सम्मान गर्नुपर्छ ।” ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान गनुपर्छ भन्ने उद्देश्यले महानगरले माता पिता सम्मान कार्यक्रम ल्याएको उपप्रमुखले बताउनुभयो । उहाँले पाका उमेरका नागरिकका ज्ञान, सीप र क्षमतालाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी महानगर पिताको सम्मान प्रदान गर्दै पोखरा—२६ का वडाध्यक्ष थापाले ज्येष्ठ नागरिकका ज्ञान र सीपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ जीवन शैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको छ ।”

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले वार्षिकरूपमा नगरपिता र नगरमाताका रूपमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताउनुभयो । यसपटक ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर महानगरपिता र मातालाई सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा सम्मानित पोखरेलले महानगरपालिकाबाट प्राप्त नगद रु १५ हजारमा रु पाँच हजार एक सय चार थप गरी वडाको सक्नेरीमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गर्नुभएको थियो । महानगरपिताका रूपमा सम्मानित पोखरेलका चार छोरा र तीन छोरीबाट समेत गरी ५२ सन्तान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *