राजनीतिक अस्थिरता चाहनेले प्रधानमन्त्रीको राजीनामा मागे : महासचिव भुसाल

प्रमुख समाचार राजनीति
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेको बताउनुभएको छ ।

समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनले आज आयोजना गरेको बागमती प्रदेश भेलामा महासचिव भुसालले विगतमा प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु गैरसंसदीय भएको भन्दै त्यो माग मृगतृष्णा जस्तै भएको बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा निर्माण गरिएको भन्दै उहाँले मुलुकमा समाजवादी अर्थ व्यवस्थाका माध्यमबाट विकास र जनताको समृद्धिका लागि वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताउनुभयो ।

महासचिव भुसालले पार्टीको सङ्गठन सुदृढीकरण विशेष अभियान देशभर सञ्चालन भइरहेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गरेको भूमिकाका कारण सङ्गठनलाई थप सशक्त र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । मुलुकको विकास र आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिँदै  उहाँले सबै वर्गको अधिकार तथा हितको सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो ।

उहाँले देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा पार्टीका सबै जनवर्गीय सङ्गठनको उल्लेखनीय सहभागिता रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *