स्वास्थ्य र शिक्षाबाट कोही नागरिक बञ्चित हुनु हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो पदीय मर्यादा राखेर दायित्व निर्वाह गर्न सके सम्बन्धित क्षेत्रसँगै देश विकास हुने बताउनुभएको छ । यहाँ आज बेलुकी आयोजित स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं गीतकार डा भोला रिजालद्वारा लिखित पुस्तक ‘सेतो कोट’ लोकार्पण कार्यक्रममा उहाँले आफूले लगाउने कोटको मर्यादा ठीकसँग पालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “कोट सेतो होस् वा कालो, हामी जिम्मेवार नभएसम्म विकास हुँदैन । त्यसैले म २२ वर्षपछि मन्त्रालयमा राज्यमन्त्रीबाट मन्त्री बनेर आउँदा सङ्कलित सुझावअनुसार कार्य गरिरहेको छु ।”

उहाँले चिकित्सकसँग छलफल गरेर पेसाप्रतिको सम्मान गर्दै ‘सेतो कोट’ दिवस घोषणा गर्ने जानकारी दिनुभयो । साथै उहाँले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताउनुभयो ।

“अस्पताल समयमा पनि चिकित्सक नभेटिने समस्यालाई यसले केही हदसम्म निरुत्साहन गर्नेछ, चिकित्सक र स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बनाउन पनि मन्त्रालय दृढ छ”, मन्त्री बस्नेतले भन्नुभयो, “बिहानको समय अगाडि ल्याउँदा बेलुकी समय छोट्याएका छौँ । हाम्रो देशमा शिक्षा र स्वास्थ्यमा नागरिकको निःशुल्क पहुँच आवश्यक छ ।”

संविधानमा सुनिश्चित गरिएको स्वास्थ्य र शिक्षाबाट कोही नागरिक बञ्चित हुन नहुने विचार राख्नुहुँदै मन्त्री बस्नेतले उपचार सेवालाई सहज, सरल र सुलभ तुल्याउन अनलाइनका माध्यमबाट टिकट लिने व्यवस्था गर्न लागिएको समेत जानकारी दिनुभयो ।

लेखक रिजालले ‘सेतो कोट’लाई चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल तर गहन पुस्तकका रूपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो पुस्तक सम्पूर्णका लागि हो, हामीलाई बुझ्नेका लागि हो । यसमा चिकित्सा पेसा, शिक्षा र आचारसंहिताको विवेचना गरिएको छ । यसले हामीलाई धेरै तथ्यसँग जानकार गराउँछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *