सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

नेपाली कांग्रेसले पार्टी बझाङका पूर्वसभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै मन्त्री सिंह आफ्नो धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंह गृहजिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

लामो समयसम्म नेपाली कांग्रेसकोे विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गर्नुभएका स्वर्गीय सिंहले पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । सिंहको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको कांगेसले जनाएको छ ।

सिंहको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गहिरो दुःख व्यक्त गर्नुभएको छ । “कांग्रेस बझाङका पूर्वसभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ, स्वर्गीय सिंहले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ”, कावा सभापति खड्काले भन्नुभएको छ ।

उहाँले स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा घाइते हुनुभएकोमा शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *