हामी राष्ट्रवादी हौं, हाम्रा एजेण्डा स्पष्ट छन्

अन्तरवार्ता
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

विष्णुप्रसाद आचार्य
प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार
काठमाडौं क्षेत्र नं ६
निरन्तर समाजसेवामा समर्पित तथा शिक्षा क्षेत्रमा लामो समय खर्चेका ठमेल काठमाडौं निवासी विश्णुप्रसाद आचार्य सवैमाझ परिचित नाम हो । आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नं ६ मा उम्मेदवार रहेका छन् । उनी नेपालको राजनीतिलाई राम्ररी बुझ्ने र विश्लेषण गर्नसक्ने एक विश्लेषक तथा बुद्धिजिबीका रुपमासमेत चिनिएका व्यक्ति हुन् । काठमाडौंको ठमेल गल्कोपाखा स्थित एभरेष्ट आवासीय उच्च माध्यामिक विद्यालय तथा कलेजका संस्थापक र पूर्व प्रधानाध्यापक समेत रहेका आचार्यले आफ्नो विद्यालय मार्फत् धेरैलाई रोजगारी प्रदान गरी बढ्दो बेरोजगारी कम गर्न समेत उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । उनी सशक्त राष्ट्रवदी व्यक्तिको रुपमा पनि चिनिन्छन् । अहिले देश गम्भीर संकटको अवस्थामा भएको र देशले मागेको तथा चाहेको नेतृत्व राप्रपाले दिने भएकाले स्पष्ट प्रतिवद्धता र एजेण्डाका साथ यो निर्वाचन क्षेत्रका जनतामाझ आफू अगाडि आएको बताउने राप्रपा उम्मेदवार विष्णुप्रसाद आचार्यसँग गरिएको कुराकानीको मुख्य अंशः

प्रतिनिधिसभा प्रत्यक्ष तर्फ काठमाडौं क्षेत्र नं ६ मा राप्रपाबाट उम्मेदवार बन्नु भएको छ, कस्तो अनुभव गर्नुभएको छ ?

— मैले एकदमै राम्रो अनुभव गरेको छु । यसको कारण देशमा कुनै पनि नेताले राम्रो कदम चाल्न नसकेर र बर्बादीको बाटोमा मात्र लागेको देखेर देशको लागि मैले पनि केही गर्नुपर्छ भन्ने ठानेर बाध्य भई राप्रपामा संलग्न भएर देशको भलो गर्नको खातिर यो चुनावमा प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवार बनेकोे हुँ ।

क्षेत्र नं ६ मा तपाई जित्ने प्रमुख आधारहरु बताई दिनुस न ?

— म यहीं बसेको, यहीं हुर्केको हुँदा मलाई अधिकांश जनताले कस्तो व्यक्ति भनेर चिन्नु भएको छ । उहाँहरुकै आग्रह र सुझाव अनुसार म प्रतिनिधिसभा सदस्यमा उठेको हुँ । यही कारणले मैले जित्ने बलियो आधार छ ।

तपाईं कुन—कुन एजेण्डा लिएर जनतामाझ जाँदै हुनुहुन्छ ?

— विद्यमान अवस्थामा वैदेशिक ऋणले देशलाई अत्यन्त जोखिम अवस्थामा पुराएको छ । देश विकासको नाममा अरबौं अरब ऋण ल्याई अफुले खाएर देशलाई श्रींलंकाको बाटोमा हिडाउन लागेको देखेर यो राष्ट्रवादी पार्टी राप्रपाले हेरेर बस्न नसक्ने भएकाले त्यसतर्फ पहल गर्न म कटिवद्द छु । हाम्रा नदिनाला र त्यसबाट उत्पन्न उर्जा अन्य पदार्थ सबै गुमेको अवस्था छ । यी गणतन्त्रवादी भनिएका नेताहरुले कैयौं नदिनाला तथा देशको भू—भाग समेत पत्यक्ष अप्रत्यक्ष रुपमा बेचिसकेका छन् । यस विरुद्ध खबरदारी र नियन्त्रणप्रति हामी कटिवद्ध रहेका छौं । भिआइपिको बढ्दो संख्याका कारण देशको सम्पत्तिको दोहन भएको छ । औषधि उपचारको नाममा राज्यको ढुकुटी करोडौं रकम खर्च र दुरुपयोग भैकसेका छन् । यसप्रतिको खबरदारी र नियन्त्रणप्रति हामी कटिवद्ध रहेका छौं । कृषिप्रधान देशमा खेतीको समयमा मलबीउ उपलब्ध गराउन नसकि खेत बाँझै हुने अवस्थाको सिर्जना भएको । कृषिका यी विविध समस्या माथि हामीले उचित पहल गर्नेछौं । देशमा ठूलो बेरोजगारी समस्या छ । देशमा बस्न नसकी वैदेशिक रोजगारीमा जाने गरिव दुखि जनताले भोग्ने समस्या तर्फ त सरकारको झन पटक्कै चासो छैन । त्यसैले बन्द गराएका कल कारखाना खुलाउने र नयाँ कलकारखाना खोली देशमै रोजगारीको अवसर सिर्जना गर्न हामी अघि बढ्ने छौं । सरकारी शैक्षिक संस्थाहरु पार्टीको भातृ संगठनको रुपमा परिवर्तन गर्ने कार्य भैरहेको छ । शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो मुख्य पहल रहने छ । यसैगरी देश संकटको चक्रब्यूहमा नराम्रो ढंगले फसिसकेको छ । यस संकटबाट देशलाई पार लगाउनका लागि निस्वार्थ राष्ट्रवादी व्यक्तित्व राप्रपाका अध्यक्ष रोजेन्द्र लिङदेनको नेतृत्वमा राष्ट्रवादी अभियन्ताहरु समेतको साथमा साथ मिलाई अघि बढ्नुको विकल्प नभएको हामी त्यसतर्फ प्रतिवद्ध छौं । देश विकासको मुख्य बाधक नै भ्रष्टाचार ढिलासुस्ती हो र हाम्रो यो पार्टीको मुख्य नारा नै भ्रष्टाचार र कुशासन विरुद्ध हो । त्यसैले हाम्रो अध्यक्षले अघि सार्नु भएको भ्रष्टाचार गरि ‘एक रुपैयाँ खानु भनेको आमाको रगत खानु बराबर हो’ भन्ने मूल विचारलाई सिरोधार्य गरी भ्रष्टाचार निर्मुल गर्ने कार्यमा म प्रतिवद्ध छु । त्यसैले यस्ता समस्याहरुको समाधानको लागि राप्रपाको नेतृत्वमा सरकार निर्माणको लागि हामी कटिबद्ध छौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशको विशिष्ट पहिचान स्थापित गर्ने राष्ट्रवादी पार्टी भएकाले मुलुकको रुपान्तरण र भविष्य निर्माणका लागि राप्रपा समर्पित छ र म पनि समर्पित र प्रतिबद्ध छु ।

जनताले राप्रपालाई नै मत किन दिने ?

— राप्रपा भनेको यस्तो पार्टी हो, जुन जनताको चाहना अनुसार हिन्दूधर्म, राजसंस्था, अखण्ड नेपालको पक्षमा अनवरत रुपमा उभिएको छ र भ्रष्टाचारको चर्को विरोधी पार्टी कोही छ भने त्यो राप्रपा मात्र हो । त्यसैले जनताले मत दिने पार्टी भनेको राप्रपा नै हो ।

ठूला दलका उम्मेदवारसँग तपाईंको प्रतिस्पर्धा हुँदैछ । उनीहरुको माझबाट जित्न यस क्षेत्रका मतदातालाई कसरी विश्वास दिलाउनु हुन्छ ?

— ठूला दलका नेताहरुले इज्जत विश्वास गुमाई सकेका छन् । त्यसैले हामीप्रति जनताको आश्था र भरोसा बढेको छ । यही नै हाम्रो जितको मुख्य आधार हो । बारम्बार जनताले चिनिसकेकासँग मेरो प्रतिष्पर्धा छ । उनीहरुको माझ मलाई प्रतिष्पर्धा गर्न कुनै अप्ठेरो छैन । किन की हामी राष्ट्रवादी हौं । हाम्रा एजेण्डा स्पष्ट छन् । त्यसैले यो क्षेत्रबाट हामी विजयी हुनेमा विश्वस्त छौं ।

यस क्षेत्रमा राप्रपाको अन्य दलसँग तालमेल छ ?

— हाम्रो दलसँग यो क्षेत्रमा अन्य दलसँग तालमेल छैन । हामो सिद्धान्त र विचारले नै मतदाता माझ गइरहेका छौं । जनता हामी प्रति अत्यन्त सकारात्मक छन् । घरदैलो गर्दा यो पटक राप्रपालाई जिताउँछौं भनिरहनु भएको छ । तपाईहरुको एजेण्डा मन प¥यो भनिरहनु भएको छ ।

राप्रपाले यो क्षेत्रलाई राम्रो क्षेत्रका रुपमा लिएको छ, मतदाताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

— मतदाताहरुको प्रतिक्रिया अत्यन्त सकारात्मक छ, राम्रो छ । जनता म प्रति अत्यन्त उत्साहित पनि छन् । त्यसैले मलाई यस क्षेत्रका मतदाताले जिताउने पक्का छ । म जितपछि उहाँहरुको इच्छा र देशको आवश्यकता विपरित जाने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *