म जस्तो अर्को उम्मेदवार यो क्षेत्रमा छैनन्

अन्तरवार्ता
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सुरेन्द्र ढकाल, समाजसेवा, राजनीति तथा पत्रकारिता क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । जनतामाझ लोकप्रिय रहेका ढकाल नेकपा मालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा काठमाडौ क्षेत्र नं १ मा प्रत्यक्ष उम्मेदवार उठेका छन् । आफ्नै सबै सम्पत्तिको सुरेन्द्र ढकाल प्रतिष्ठान बनाई त्यसको व्याजबाट निमुखा वालबालिकाको शिक्षा तथा सामुदायिक विद्यालयको विकासमा सक्रिय रहेका सुरेन्द्र ढकाल वरिष्ठ समाजसेवी हुन् । ग्रेटर नेपाल अभियानका प्रथम अभियन्ता तथा ग्रेटर नेपाल साप्ताहिकका प्रकाशक सम्पादक रहेका छन् ढकाल । जर्मनी तथा इटालीका विश्वविद्यालयबाट सरकारी प्रशासन तथा व्यवस्थापन विषयमा उच्च अंक सहित स्नातकोत्तर र विशेषज्ञताको डक्टरेट उपाधी गरेका उनी अनुसन्धान र लेखनमा दक्ष र राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मानबाट समेत सम्मानित छन् । २३ वर्षको उमेरमा लोकसेवा पास गरी शाखा अधिकृत र त्यस पश्चात् विभिन्न वस्तुगत संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका कार्यकारी प्रमुख, मन्त्रालयमा युनिसेफका वीज्ञ सल्लाहकार तथा मन्त्रीस्तरीय उच्चस्तरीय आयोगका विज्ञ सदस्य भई शासकीय अनुभवले उनी खरिएको व्यक्तित्व हुन् । विगत ३७ वर्षदेखि साइकल प्रयोग गर्दै सादगी जीवनका अनुपम उदाहरण बनेका ढकाल योग अभ्यासी तथा टेवलटेनिस भेट्रान तर्फका राष्ट्रिय खेलाडी हुन् । वृद्ध माता पिताको स्याहार गरी कलियुगका श्रवणकुमार भनेर चिनिएका ढकाल नेकपा (माले) का स्थायी कमिटी सदस्य हुन् । देशभक्त तथा सच्चा वामपन्थीका रुपमा परिचित प्रतिनिधिसभा सदस्यमा काठमाण्डौ क्षेत्र नं १ का नेकपा (माले) का उम्मेदवार सुरेन्द्र ढकालसँग गरिएको कुराकानीको मुख्य अंश :

प्रतिनिधि सभा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नं १ मा नेकपा मालेको उम्मेदवार बन्नु भएको छ, कस्तो अनुभुति गर्नु भएको छ ?
मैले राजनीतिलाई पेशा नभई सेवाको रुपमा स्थापित गर्न खोजेको हो । त्यस कारण म सफल भएँ भने देशको राजनीति जसरी विकृत हुँदै गएको छ, त्यसलाई सहि बाटोमा ल्याउन ठूलो मदत पुग्ने छ भन्ने आशा लिएको हुँदा म यो निर्वाचनप्रति सकारात्मक छु ।

यस क्षेत्रमा तपाई जित्ने आधारहरु बताई दिनुस न ?
मेरो जित्ने अकाट्य आधारहरु ४ वटा छन् । पहिलो नम्बरमा म यस ठाउँमा जन्मे हुर्केको बढेको मान्छे हुँ । अरु जस्तो दुरिष्ट उम्मेदवार वा बसाई सरि आएको उम्मेदवार होइन । दोस्रो नम्बरमा मैले जर्मनी र इटालीको विश्वविद्यालयबाट उच्च अंक ल्याई सरकारी प्रशासनमा स्नातकोत्तर र विशेषज्ञताको डक्टरेट उपाधि हासिल गरेको छु । त्यस्तो शैक्षिक योग्यता हासिल गर्ने नेपाल भरि नै म जस्तो अर्को कुनै उम्मेदवार उठेका छैनन् । तेस्रो नम्बरमा मैले आजसम्म कमाएको सम्पूर्ण सम्पत्तिलाई अक्षय कोषमा राखी वार्षिक ४४ लाख रुपैयाले शैक्षिक सामाजिक कार्य गर्दै आएको छु । यहि चुनाव क्षेत्रकै भन्ने हो भने १२ वटा सरकारी सामुदायिक विद्यालय, एउटा सामुदायिक क्याम्पस, ६ वटा धार्मिक संस्था, ९ वटा सामाजिक संस्था र एउटा पुस्तकालयमा गरी जम्मा ३० वटा संघसंस्थासँग सहकार्य गर्दै आएको छु । यस्तो सहयोगी व्यक्तित्व नेपालमा अरु कोही पनि उम्मेदवार छैनन् । यसैगरी चौथो नम्बरमा म वातावरण प्रदुषण प्रति ज्यादै सचेत र संवेदनशील छु । त्यही कारण विगत ३७ वर्षदेखि साइकल प्रयोग गर्दै आएको छु । नेपाल जस्तो देशले पेट्रोल, डिजेल, मट्टितेल, प्रयोग गरेर ग्याँस बालेर वातावरण प्रदुषण गर्नु हुँदैन । अन्यथा नेपाल हिमाली क्षेत्र हिंउ विहीन कालो पत्थरमा परिणत हुने र सिङ्गै देश मरुभूमिकरणको चपेटामा पर्न जाने देखेर मैले थालेको शून्य उर्जा दहन (Zero Emission) को अभियान सफल भएको देश प्रदुषण मुक्त र जुन व्यापार घाटा देशले व्यहोरी रहेको छ, त्यसबाट उन्मुक्ति मिल्छ भन्ने मेरो विश्वास छ । यति सचेत म जस्तो कुनै अर्को उम्मेदवार अरु छ जस्तो मलाई लाग्दैन । मेरो जित पक्का छ, मैले हार्नु भनेको देशभक्ति वातावरणीय स्वच्छता र जनताले हार्नु हो ।

जनताले नेकपा (माले) लाई नै किन मत दिने ?
महाकाली सन्धी षड्यन्त्र गरी नेकपा एमालेले राष्ट्रघात गरेको हुँदा त्यस दलमा रहेका राष्ट्रवादीहरुले विद्रोह गरी नेकपा (माले) बनाउका हौँ । नेकपा मालेको दृष्टिमा अहिलेको सत्ता गठबन्धन र एमालेको गठबन्धन सबै विदेशी एजेण्ड हुन् । त्यसैले यदि नेपाली मतदाताहरु सचेत छन्, राष्ट्रभक्त हुन भने उनीहरुले मतदान गर्नु पर्ने दल भनेको नेकपा माले नै हो, यसमा विकल्प छैन । अन्यथा यस चुनावमा पनि यिनै विदेशी एजेण्टहरुले सरकार बनाए भने नेपाल फिजी हुँदै सिक्किम बन्ने तड्कारो सम्भावना देखिएको छ । यो कुरा नेपाली मतदाताहरुले राम्ररी बुझ्नु जरुरी छ ।

ठूला दलका उम्मेदवारसँग तपाईको प्रतिस्पर्धा हुँदैछ । उनीहरुको माझबाट जित्न यस क्षेत्रका मतदातालाई कसरी विश्वास दिलाउनु हुन्छ ?
२००७ सालदेखि २०६३ सालसम्म आउँदा नेपालमा धेरै पटक क्रान्ति भए, व्यवस्थाहरु परिवर्तन भए । चप्पल लाउने नेताका चाउरी परेका गाला चिल्लो हुँदै गयो, टुरिस्ट नेताहरु संभ्रान्त बने तर देश र जनताको अवस्था भने झन झनै दर्दनाक हुँदै गएको छ । यसको लागि नेपालमा हालसम्म शासन गर्दै आएका सबै दल र तीनका नेताहरु जिम्मेवार छन् । देशलाई भड्खालोमा पार्ने दलका उम्मेदवार नेताहरुलाई अब यसै चुनावमार्फत् विस्थापित गर्ने अभियानमा हामी जुटेका छौं । त्यस कारण हाम्रो अगाडी खास अर्थमा न यिनीहरु ठुला दल हुन् न यि नेताहरु हस्ति हुन् । खास अर्थमा यिनीहरुलाई राष्ट्रघाती रुपमा जनताले बुझि पनि छन् ।

यस क्षेत्रमा नेकपा (माले)को अन्य दलसँग तालमेल छ ?
नेकपा (माले) एक राष्ट्रवादी, स्वच्छ पर्यावरणप्रेमी विकासवादी, जनजिविकाको ग्यारेन्टी गर्नुपर्छ र नेपाललाई पूर्ण रुपमा आत्मनिर्भर बनाउनु पर्छ भन्ने दल भएको हुँदा यस दलले कुनै पनि राष्ट्रघाती, भ्रष्ट असक्षम र फरियावादी दलहरुसँग तालमेल गर्ने कुरै आउँदैन ।

अन्तमा यस क्षेत्रका मतदातालाई सन्देश दिनुस् न ?
अन्तमा म के भन्न चाहन्छु भने फेरि पनि नेपाली मतदाताहरुले यिनै भ्रष्ट, असक्षम र फरियावादी नेताहरुलाई चुनेर सत्ताको साँचो सुम्पे भने नेपालले कि त युक्रेन कि त सिक्किमको नियति भोग्नु पर्नेछ । तसर्थ नेकपा (माले) लाई अमूल्य मतदान गरी यस दललाई राष्ट्रिय मान्यता प्राप्त दलको स्तरमा पुर्‍याउनुको विकल्प छैन । तसर्थ मालेलाई नै मतदान गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *