विकृति, विसङ्गती र भागबण्डा राजनीतिको विरुद्ध मेरो दावेदारी हो

अन्तरवार्ता
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

डा. ज्ञान बस्नेत
प्रतिनिधि सभा सदस्य, स्वतन्त्र उम्मेदवार
काठमाण्डौं क्षेत्र नं. ९
डा. ज्ञान बस्नेत यति बेला काठमाण्डौं क्षेत्र नं. ९ मा चर्चित हुनु हुन्छ । चर्चित हुनुको प्रमुख कारण उहाँले यस क्षेत्रबाट आगामी प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । भोजपुरमा जन्मेर विभिन्न संघर्ष गर्दै यति बेला बस्नेत काठमाण्डौं जिल्ला चन्द्रागिरी नगरपालिका, काठमाडौं क्षेत्र नं. ९ तीन थानामा विगत तिस वर्षदेखि बस्दै आउनु भएको छ । बेलायतको प्रतिष्ठित विश्व विद्यालयबाट पिएचडी गर्नु भएका बस्नेत देश र जनताको सेवा गर्नुपर्छ भन्ने मनसाय लिएर स्वदेश फर्केको हुन् । यसैक्रममा उहाँ २० वर्षदेखि प्राध्यापन गर्दै आउनु भएको छ । यस क्रममा उहाँ अन्तर्राष्ट्रिय संघ संस्थामा समेत कार्यरत रहनु भयो ।
अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी कानून, अन्तर्राष्ट्रिय कानून र संवैधानिक कानूनको ख्यातीप्राप्त विज्ञ ज्ञान वस्नेत यति बेला अहिले काठमाण्डौं क्षेत्र नं. ९ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा सक्रिय हुनुहुन्छ । प्रस्तुत छ डा. ज्ञान बस्नेतसँग गरिएको कुराकानीको मुख्य अंशः
यस पटक प्रतिनिधि सभा सदस्यमा काठमाण्डौं क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको छ । तपाई उम्मेदवार भन्नुको कारणहरु बताइ दिनुस् न ?
देशमा फैलिरहेको विकृति विसंगती निवारण गर्नको लागि मैले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेको हुँ । यसै गरी संस्कारको राजनीतिको वकालत र सुत्रपातका लागि, राष्ट्रिय स्वाधिनताको रक्षा र वकालतको लागि, युवाहरुलाई राजनीतिमा आकर्षण गर्नका लागि, युवाहरुलाई राजनीतिमा सर्वसाधारण जनतासँग जोड्नका लागि, दण्डहिनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय अत्याचारको विरुद्धमा यो उम्मेदवारी दलिय सिष्टमको विरुद्धमा पटक्कै छैन, तर हाम्रो दलिययन्त्रले उत्पादन गरेको भयावह राजनीतिक विकृती र भागबण्डाको राजनीतिको विरुद्ध मेरो उम्मेदवारी हो ।
तपाईका चुनावी एजेण्डा बताइ दिनुुस् न ?
मैले चुनावी प्रचारका क्रममा जनताका माझ ११ वटा एजेण्डा अघि सारेको छु । ती एजेण्डाहरुमा संघीयता खारेजी, निर्वाचन प्रणालीमा व्यापक सुधार, समानुपातिक प्रणालीको खारेजी, अस्वीकारको अधिकार र आफुले निर्वाचित गरेर पढाएका जनप्रतिनिधि असफल भएमा कार्यकाल सकिनु अघि नै जनताले फिर्ता बोलाउनपाउने अधिकारको सुनिश्चिता आप्रवासी नेपालीहरुलाई मतदानको अधिकार, न्यायपालिका, संवैधानिक अंगहरु र सबै सार्वजनिक संस्थाहरुलाई राजनीति भन्दा माथि राख्ने, विदेश नीति, कर्मचारी प्रशासन, शिक्षा, स्वास्थ्य र जनतालाई जिउनको लागि अत्यावश्यक कुराहरुलाई दलीयदायराभन्दा माथि राख्नुपर्छ भन्ने छ ।
यसै गरी जनतामाझ मैले राखेका अन्य एजेण्डामा शैक्षिक संस्थाहरु शान्ति क्षेत्र बनाउने, त्यहाँबाट सबै राजनीतिक संघ संगठनहरु हटाउने, कानूनको शासन, लिङ्ग र जातको आधारमा गरिने हरेक खालको सामाजिक विभेदहरुको अन्त्य गर्दै समतामुलुक समाजको निर्माण र मानव अधिकारको रक्षा गर्ने, संक्रमणकालीय न्यायलाई अन्तर्राष्ट्रिय मानव अधिकार टुङ्गोमा पु¥याउने, हरेक खालको भ्रष्टाचार नीतिगत र अनियमिततालाई जरैदेखि उखेल्ने, २०४६ सालपछि शक्ति र सत्तामा बसेका सबैको सम्पत्ति छानविन गर्ने, प्रधानाध्याधीश न्यायाधीश, संवैधानिक अङ्गका पूर्व र वर्तमान सबै पदाधिकारीहरुको शक्तिशाली नागरिक आयोग बनाएर सम्पत्ती छानविन गर्ने, व्यापारीहरुलाई करको दायरामा ल्याउने, सम्पत्ति सुद्धिकरण सम्बन्धी कानूनलाई सशक्त बनाउने रहेको छ ।
यसै गरी मैले जितेमा गर्ने प्रमुख काममा आर्थिक रुपमा देशलाई आत्मनिर्भर बनाउने, विदेशी ऋण कम गर्दै जाने, कृषि उत्पादनलाई आधुनिकिकरण गर्ने, युवा जनशक्तिलाई उद्धमशिल बनाउँदै रोजगारीको वातावरण तयार गर्ने, २०४६ साल पछि बेचिएका, नष्ट भएका सबै उद्योग कलकारखानाहरु पूनस्थापित गरिने, नेपाली समाजलाई पलायनवादी मानसिकताबाट माथि उठाउने, विदेशमा पसिना बगाउन बाध्य बनाइएका हाम्रा लाखौं नेपाली दाजु–भाई दिदी बहिनीहरुलाई स्वदेशमै फर्काएर यहि काम गर्ने वातावरणको निर्माण गर्ने, सांसदहरुको संख्या घटाउने, मन्त्रिपरिषद् सानो आकारको बनाउने, पदाधिकारी र पूर्व
पदाधिकारीहरुको सुविधामा भारी कटौती गर्ने र विकासमा प्रयोग गर्ने, राजनीति अब पेशा हैन, सेवामा बदल्नुपर्छ, राजनीति अब जनताको लागि, सामाजिक न्यायको लागि, आउदो पुस्ताको लागि र हाम्रै पालामा परिवर्तन गरिने रहेका छन् ।
तपाई यस क्षेत्रबाट जित्ने आधार बताइ दिनुस न ?
मैले जित्ने आधार भनेको सक्षम हुँ, पढेलेखेको छु, कानुनी प्राध्यापन गर्छु, अनुशन्धान गर्छु । कानुनको विज्ञ हुँ । देश विदेशमा अध्ययन गरेको छु, सामाजिक अभियन्ता पनि हुँ । यहाँको स्थानीय वासिन्दासँग चिरपरिचित छु । यहाँको सम्पूर्ण वासिन्दाका समस्यामा परिचित छु । सबैभन्दा ठूलो कुरा समाज र जनताप्रति र आफ्नैप्रति इमान्दार छु । म बदमासी, भ्रष्टाचार, नराम्रो काम कहिल्यै गर्दिन र गरेको छैन । म देशको सेवा गर्न जन्मेको हुुँ कि जस्तो लाग्छ । यि यि कारणले गर्दा खेरी मैले यस क्षेत्रबाट जित्नै पर्छ । म जत्तिको मान्छे निर्णायक ठाउँमा पुग्दा राष्ट्रलाई, जनतालाई कुनै घाटा हुने छैन । देशलाई फाइदा नै हुन्छ भन्ने मैले महसुस गरेको छु , देशले परिवर्तन चाहेको छ, नयाँ नेतृत्व खोजेको छ, र मेरो उम्मेदवारी पनि त्यसैको उपज हो ।
जनताले अब आँट गरेर मलाई जिताउनु पर्छ । होइन भने ३२–३३ वर्षदेखि पुरानो सत्ता र नेतृत्वले जनतालाई के दियो त ? राष्ट्र समाजलाई के दियो त ? जनताको जिवन पद्धतीमा सुधार खोई ? आर्थिक सामाजिक, राजनीतिक, परिवेशलाई हेर्दा झनै विग्रेर गएको देखिन्छ नि त भने पछि अब राष्ट्र नयाँ सिराबाट अगाडी बढ्नु पर्छ ।
सत्ता गठबन्धन र एमालेको माझ प्रतिस्पर्धा गर्नुपर्दा तपाईलाई सकस पर्ला नि ?
जनता अब सचेत भइसकेका छन्, पुरानोहरु बाट अब काम हुँदैन भन्ने स्पष्ट भइसकेको छ । मेरो जत्तिको हाइप्रोफाइल भएको यो क्षेत्रमा पुरानो–नयाँ कोही छैन । जनता म प्रति आकर्षित छन् । मैले जित्ने निश्चित छ । फेरी प्रजातन्त्रमा प्रतिस्पर्धा स्वागत योग्य क्ुरा हो । जनताले जसलाई चाहे उसैलाई जित्ने हो । त्यसैले जनताको इच्छालाई सम्मान गर्नु पर्छ ।
तपाई कुनै दलबाट नउठेर किन स्वतन्त्र उठ्नु भयो ?
म स्वतन्त्र नै रहन्छु, म सबैको साझा जनताको उम्मेदवार हुँ । म कसैको होइन, सबैको हुँ । पहिला म यो राष्ट्रको हुँ, नेपाली हुँ ।
केही व्यक्तिहरु स्वतन्त्र नउठेर दलबाट उठिरहेका छन् , तपाई यसबारे के भन्नु हुन्छ ?
निर्वाचन आयोगमा पहिला नै १२४ वटा दल दर्ता भइसकेका छन् त्यस मध्ये ८४ वटा दल यस पटकको चुनावी मैदानमा छन् । अब एउटा दल थपिदैमा केही हुनेवाला छैन । विगतमा स्वतन्त्रले अघि बढाएको लौरो पनि हाम्रो नेपाली पार्टीको भइसक्यो । त्यही पार्टीबाट केही स्वतन्त्र भनिएकाहरु उठ्दैछन । पार्टीको चुनाव चिन्ह लिएर हिडेपछि कोही कसरी स्वतन्त्र रहन्छ ? जनताले यो कुरा बुझ्नुपर्छ, मनन गर्नु पर्छ र गहिरो अध्ययन गरेर मात्र भोट हाल्नु पर्छ ।
तपाईलाई कुन कुन वर्गमा मतदाताले मतदान गर्लान ?
हेर्नु तह र तत्काका मान्छेहरु दलीय विकृतिबाट अत्यन्त चिन्तित छन् । सबैले नयाँ सुरुवातको चाहना राखेका छन् । त्यसैले यि सबैले मलाई भोट हाल्दैछन् । कारण के भने जनताहरु सचेत भइसकेका छन् र साघुँरो दलीय सोचबाट माथि उठिसकेका छन् । दलभन्दा माथि त राष्ट्र समाज सभ्यता र सिष्टमभन्ने रहेछ भन्ने नेपाली जनताले बुझिसकेका छन् । मैले माथि नै भनिसकेको छु कि म काठमाण्डौं क्षेत्र नं. ९ को सम्पूर्ण जनताको साझा उम्मेद्वार हुँ । किनभने दलीय राजनीति भन्दा मेरो सोच माथि छ ।
अन्तमा देशवासीलाई सन्देश दिनुस् नि ?
सम्पूर्ण नेपाली दाजु–भाई, दिदी बहिनी, आमा बुवाहरु र विशेष गरी काठमाण्डौं क्षेत्र नं. ९ का सम्पूर्ण बासिन्दाहरु र मतदाताहरुलाई म के अनुरोध गर्छु भने हजार पटक सोचेर मात्र मतदान गर्नुहोस् । किनभने अब हामी आफै उठ्नु पर्छ । हरेक परिवर्तनको सम्वाहक आफै बन्नु पर्छ । हाम्रो पुस्तालाई हार्ने छुट छैन । हाम्रो पुस्ताले हा¥यो भने यो सभ्यता हार्छ, यो देश हार्छ । यो समाज हार्छ । त्यसैले अन्तर आत्मा देखि मनन गरौं र यसपटक मलाई अमुल्य मत दिएर विजयी गराउनु होला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *