२०८३ भदौ ९, बुधबार पूर्वाह्न ०८:१२:३७

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

देश विकासमा राससको ठूलो भूमिका हुन्छ– वरिष्ठ संस्कृतिविद् जोशी

विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गर्दै आएको छ । राससले भिडियो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । राससको इतिहास, समाचार सामग्री र भिडियो सेवा कस्ता–कस्ता विषयवस्तु समावेश गर्नुपर्ला ? भन्ने विषयमा राससका पूर्वसञ्चालक समिति सदस्यसमेत रहनुभएका वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

तपाई कुनै समय राससको सञ्चालक समितिमा हुनुहुन्थ्यो, त्यतिबेलाको राससको अवस्था कस्तो थियो ?

– नेपालमा २००७ सालपछि प्रजातन्त्रको श्रीगणेश भयो । प्रजातन्त्र ल्याइसकेपछि त्यो बेला संविधान बनाउन त्रिभुवनले चुनावको आमनिर्वाचन घोषणा गरेका थिए । त्यो घोषणालाई त्यो बेला त्रिभुवनको स्वर्गवास भएपछि महेन्द्रले ‘क्यारिअन’ गरेको भए देशको अवस्था अर्कै हुन्थ्यो । त्यसबेला संविधानको निम्ति चुनाव हुँदै भएन । उनले अर्कै तरिकाले केके गरे गरे । सबैलाई थाहा भएकै कुरा हो । हुँदाहुँदा शक्ति सबै उनैले लिए । त्यसबेला पार्टीहरुले खेलेको भूमिका पनि सबैलाई थाहा भएकै कुरा हो ।

पार्टीहरुले आन्दोलन गरिरहेका थिए । त्यो बेला हामीले खानपिनको लागि मात्रै आन्दोलन गरेको त होइन । हामीले त मौलिक हक पो खोजेको हो । आफ्नो हक अधिकार खोजेको हो । हामीले देशको निम्ति आन्दोलन गरेका थियौँ । त्यसबेला सबैलाई जागरुक बनाउनको निम्ति मिडियाको आवश्यकता प¥यो । आधिकारको लागि सबैलाई जागरुक बनाउन मिडियाको आवश्यकता महसुस भयो । त्यसै क्रममा गोविन्द वियोगीलगायत प्रचारप्रसारको काममा लागेका थिए । त्यतिबेला नै समाचार समितिको बारेमा छलफल हुन थाल्यो । त्यससँगै मिडियाका मान्छेहरु जम्मा हुन थाले । हुँदाहुँदा समाचार बैँकको महत्व बढ्दै गयो । पछि नेपालमा चुनाव भयो । नेपाली काँग्रेस सत्तामा आयो । त्यसैबेला निजी क्षेत्रबाट समाचार समितिको स्थापना भयो । अनि काम गर्नको लागि त्यतिबेला जान्नेबुझने हामीहरुलाई पनि बोलाएर काम गराएको हो ।

अबका दिनमा राससको भूमिका कस्तो हुनुपर्छ होला ?

–हुन त मिडियामा नयाँनयाँ कुराको उन्नति भएको होला तर आज जे–जति मिडियामा उन्नति भयो ती उतिबेलाका साथीहरुले दुःख गरेर, त्याग गरेको परिणाम हो । त्यसैले अहिलेको राससको यो चौतर्फी उन्नति पनि त्यतिबेलाको परिश्रमको प्रतिफल हो । नेपाल अगाडि बढिरहेको छ । त्यसको निमित्त राससले भूमिका खेल्दै जाओस् । राससले भनेपछि पक्का हुने बाटोमा राससले आफूलाई अगाडि बढाउनुपर्छ । राससको भवन पनि आफ्नै भयो । हरेक कुरामा रससले आफूलाई विकास गर्दै लगेको छ । अब एक दिन भावी नेपालको निमित्त, भावी पुस्ताको निमित्त बाटो मात्रै देखाउने होइन कि, देशकै विकासको निमित्त राससको ठूलो भूमिका हुन्छ ।

राससले ६१ वर्षसम्म जसरी सत्यतथ्य समाचार दिँदै आएको छ, सेवा विविधीकरणअन्तर्गत अहिले भिडियो सेवा सुरु गरेको छ, यसबारेमा तपाईको धारणा के छ ?

–समाज परिर्वतनमा मिडियाको भूमिका ज्यादै ठूलो हुन्छ । कुनै बेला रेडियो, टेलिभिजन भन्ने नै थाहा थिएन । तर अहिले यतिधेरै रेडियो र टेलिभिजनहरु छन् । मिडिया मेचीदेखि महाकालीसम्म फैलिरहेको छ । विविधतामा एकता भएको रािष्ट्रयताका लागि मुलुकमा मिडियाको भूमिका महत्वपूर्ण हुन्छ । मिडियाले जुन काम गरिरहेको छ, त्यसको कमीकमजोरी होला, अलि पछि परेको होला त्यो आफ्नो ठाउँमा छ तर हरेश खानु हुँदैन । सरकारले पनि सकेको बेलामा केहीँकतै मित्रराष्ट्रबाट ल्याएर भएपनि, आफ्नै स्रोतबाट भएपनि राससलाई अझै बलियो बनाउनुपर्छ । राससले देशको संस्कृति, समावेशीकरण सहअस्थित्व, सहयोगको निमित्त र मेचीदेखि महाकालीलाई जोड्नको निमित्त भूमिका खेल्नुपर्छ ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *